Home विचार तुलसी घिमिरेको गजलसङ्ग्रह ‘घामका फूलहरु’

तुलसी घिमिरेको गजलसङ्ग्रह ‘घामका फूलहरु’

डीबी बर्तौला,

नेपाली साहित्यमा प्रगतिशील विचारधारालाई आत्मसाथ गर्ने अग्रज साहित्यकार तुलसी घिमिरे (वि.सं. २०११) जो आफ्नो नाममा देश, माटो, उज्यालो र शृङ्गारिकतालाई सप्रेम लेख्न रुचाउँछन् । फूलका कुरा जुनका कुरा (गीत सङ्ग्रह–२०७१) माटोको मोह (कविता सङ्ग्रह–२०८०) प्रकाशन गरिसक्नु भएका अग्रज कवि तुल्सी घिमिरेको ‘घामका फूलहरु’ गजलसंग्रह हालै सार्वजनिक भएको छ । लामो समय नेपाली भाषा साहित्यमा कलम चलाउनु भएका घिमिरेका आवाज र लेखमा तीव्र रुपमा राष्ट्रियता प्रस्तुत भएको पाइन्छ भने घामका फूलहरु गजल संग्रहमा श्रृङ्गारिकताले दह्रो रुपमा प्रभाव जमाएको स्पष्ट हुन आउँछ ।

गजल मञ्च मकवानपुरले प्रकाशनमा ल्याएको यस पुस्तकमा आफ्नो उमेर जतिकै ७० वटा गजलहरु समावेश भएका छन् । ७० को सेरोफेरोमा हिँड्दै गर्नुभएका परिपक्व गजलकारका गजलहरुमा जवानीको रसात्मक अभिव्यक्तिहरु भेट्न सकिन्छ । उहाँ पहिलो गजलमा प्रकाशित प्रेम गरे तापनि सिउँदोमा सिन्दुर भर्न नपाएकोमा दुखेसो र हारको अनुभुति गर्नु भएको छ । उहाँका गजलमा आफुलाई सधैं कुनै न कुनै तवरबाट सहयोग गर्ने प्रियसी गाउँ छोडी गएकोले अति धेरै याद आएको प्रसङ्ग पाइन्छ । जिवनका तितामिठा पलहरु भुल्न नसकिने अनुभव उहाँका गजलमा पाइन्छ । आमाको सन्तानप्रतिको त्याग तपस्यालाई देखाउँदै सन्तानको वैगुनी स्वरुपलाई पर्दाफास गर्नु भएको छ । आशा र प्रेमले भिजाएर सपना देखाउनेले नै माया मारेर जाँदा रहेछन् । सहर बेइमामी छ र जिन्दगी नि सजिलै बित्न सक्छ भनी गजलकारले आशङ्का व्यक्त गरेका छन् । राजनैतिक वितृष्णाका रागहरु केहि गजलहरुमा भेटिन्छन् । खरानी भएर उड्ने यो जिवन विस्तारै सकिएर जान्छ त्यसैले कोहि हुन्नन् आफ्ना भनी प्रियसीलाई गजलमार्फत सम्झाउँदै छन् ।

गजल पुरानो मक्किएको समय भोक, तिर्खा र अँध्यारोका बारेमा समेत चर्चा गरेका छन् । नेताले बाटो बिराएको मान्छेको विसङ्गत व्यवहार र स्वार्थी प्रकृतिको चिरफार गर्ने काम गजलकारले गरेका छन् । देव बनाउने गीत उज्यालोको पक्षपोषण र सकारात्मक सोँचलाई केहि गजलमा प्रवेश गराएको पाइन्छ । नेपालीहरुका गाउँमा बारी बाझो भएको छ सहरमा बसेर गाउँको याद गर्ने क्षमता भएको कुरा व्यक्त गरेका छन् । मान्छे पापी भएको र अर्काको मनोहारी बुझ्न नसक्ने कुरा तलको गजलको शेरमा व्यक्त गरिएका छन् ।

सक्दैनौ तिमी मान्छेको मनोहरी बुझाउन
हेर पापी दुनियाँको ताल के गर्छौ तिमी ।

घातका कुरा, प्रेमिल साथका कुरा, बितेका सुन्दर पल, धोका पाएको समय र रोमान्टिक भएका त्यो बेलाका उमेरका यादगार दिनहरुको सम्झनाले गजलकार नोस्टाल्जिक भइदिन्छन् । प्रेम रसले भरिएका अधिकांश गजलको केन्द्र भनेको नै माया प्रेम नै हो । पिर परेर आँखामा सजल भएको र चिठी लेख्छ । गजलले भएको कुरा गजलकारले यसरी प्रस्तुत गरेका छन् ।

कस्तो पिर पर्यो मलाई आँखा मेरो सजल भयो ।
चिठी तिम्लाई लेखुँ भन्दा लेख्दालेख्दै गजल भयो ।

समग्रमा गजलको स्वरुपले मोतीराम भट्टको श्रृङ्गारिकताको बाटोलाई समात्न सफल भएको छ । सरल भाषाशैलीको प्रयोग गर्दै प्रेमील भावलाई अभिव्यक्त गरिएका गजलहरु गुणात्मक तथा ओजपूर्ण रहेको पाइन्छ । यति हुँदाहुँदै पनि एउटा गजल दुई पटक दोहोरिनु, एउटै गजलमा ठाउँठाउँमा काफियाहरु दोहोरिनु, एउटै गजल धेरै विषयवस्तु समेट्न खोज्नु, भाषिक अशुद्धता भेट्नु, सम्पादन पक्ष फितलो हुनु र गजलको शीर्षकीकरण हुनु जस्ता केहि दुर्वलता देखिए तापनि उत्कृष्ट गजलको सङ्ग्रह घामका फूलहरुको कविगत सफलताको शुभकामनासहित गजलकार तुलसी घिमिरेलाई हार्दिक बधाई । (बर्तौला साहित्य सङ्गम मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)

Exit mobile version