Home मुख्य समाचार मन्त्री लम्सालको १ वर्ष २ महिनाः प्रदेशको श्रम तथा रोजगार नीति २०८०...

मन्त्री लम्सालको १ वर्ष २ महिनाः प्रदेशको श्रम तथा रोजगार नीति २०८० जारी

श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल

हेटौंडाः बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आफ्नो कार्यकालमा भएका प्रगति सार्वजनिक गर्नुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री लम्सालले १ वर्ष २ महिनामा मन्त्रालयबाट भएका प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

२०८० जेठ ७ देखि २०८१ साउन ६ गतेसम्म आफूले मन्त्रालय सम्हालेदेखि उल्लेख्य काम गरेको उहाँले दाबी गर्नुभएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय भएपनि अधिकार क्षेत्र र संवैधानिक अधिकार श्रम, रोजगारमा नरहेको अवस्थामा पनि आफूले धेरै प्रयन्त गरेको उहाँले बताउनुभयो । नीति निर्माणको काम, कामको क्षेत्रको खोजी र विकासमा प्रदेशलाई अघि बढाउने कोसिस गरेको उहाँले दाबी गर्नुभयो । प्रदेशको अधिकार क्षेत्र मिचिने कानुनविरुद्ध संघीय सरकारसँग संवैधानिक बहस सुरु गरेको उहाँले बताउनुभयो ।

मन्त्री लम्सालले आफूले यातायात मन्त्रालय जिम्मा लिएपछि महत्वपूर्ण नीतिगत सुधार, कार्यालयहरू व्यवस्थित, सेवाहरू प्रविधिमैत्री, जनगुनासोको सम्बोधन, सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेको बताउनुभएको छ । उहाँले आफूले यातायात व्यवस्था विभागबाट इडिएल सिस्टम प्रदेश सरकार मातहत ल्याई जनअपेक्षाअनुसार छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन उक्त प्रविधिमा पहुँचको सुनिश्चितता र स्पेसिफिकेसन प्राप्त भई प्रिन्टिङ मेसिन र स्मार्टकार्ड खरिद प्रक्रिया अगाडि बढाउने अवस्था तयार गरिएको बताउनुभयो ।

मन्त्रालयअन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूमा रहेको सवारी साधनहरूको अभिलेखलाई डिजिटाइजेशन तथा आर्केभिड गर्ने कार्यको पूर्वाधार तयार भई कार्य प्रारम्भ गर्ने अवस्था तयार गरिएको उहाँले बताउनुभयो । सार्वजनिक सवारी साधनको पटके इजाजत लिने कार्यलाई अनलाइन पद्धतिबाट सुरु गरिएको र राइड सेयरिङ सेवा सञ्चालन कार्यविधि र विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालनसम्बन्धी मापदण्ड तयार गरी स्वीकृतिका लागि प्रदेश सरकार (मन्त्रिपरिषद्) मा पेश गरिएको र बागमती प्रदेशको श्रम तथा रोजगार नीति २०८० जारी गरिएकोजस्ता महत्वपूर्ण काम भएको बताउनुभयो ।

Exit mobile version