Home मुख्य समाचार नगर अस्पतालमा फेरि डाक्टर पुगे

नगर अस्पतालमा फेरि डाक्टर पुगे

विरामीलाई परिक्षण गर्दै हटिया अस्पतालका डा. नरेन्द्र केसी

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका दुईवटा नगर अस्पतालमा फेरि डाक्टर (मेडिकल अधिकृत) पुगेका छन् । बुधबार हेटौँडा–१३, पदमपोखरीस्थित पदमपोखरी अस्पतालमा २६ बर्षीया डा. गजल पन्त र हेटौँडा–१६, हटियास्थित हटिया अस्पतालमा २८ बर्षीय डा. नरेन्द्र केसी पुगेर सेवा सुरु गर्नुभएको हो ।

गत फागुन महिनामा हटिया अस्पतालका डा. कमलराज न्यौपाने र गत जेठमा पदमपोखरी अस्पतालका डा. निशान अर्यालले राजिनामा दिनुभएपछि हेटौँडा उपमहानगरपालिका मातहतका दुबै अस्पताल डाक्टरबिहिन बनेको थियो ।

हेटौँडा उपमहानगरपालिकाले दुबैजना डाक्टरलाई मंगलबार नियुक्तिपत्र प्रदान गर्दै मंगलबारबाटै नगर अस्पतालमा खटाएको छ । डा. पन्तले यसअघि रक्सिराङ गाउँपालिकाको आधारभूत अस्पतालमा सेवा प्रदान गर्नु भएको थियो । यस्तै, डा. केसीले यसअघि हेटौँडा अस्पताल र निको अस्पतालको इमर्जेसी विभागमा रहेर काम गर्नुभएको थियो । डा. पन्तसँगै पदमपोखरी अस्पतालमा एक जना स्वास्थ्यकर्मी र एक जना स्टाफ नर्स नियुक्त हुनुभएको छ भने डा. केसीसँगै हटिया अस्पतालमा एक जना स्टाफ नर्स नियुक्त हुनु भएको छ ।

हेटौँडा उपमहानगरपालिकाले दुई जना डाक्टरका लागि दरखास्त आव्हान गर्दा १० जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ६ जना मात्रै परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा ४ जना मात्रै उत्तीर्ण भएको हेटौँडा उपमहानगरपालिकाको सामान्य प्रशासन शाखाका प्रमुख लक्ष्मण मैनालीले जानकारी दिनुभयो ।

डाक्टर पुगेको दिन मंगलबार पदमपोखरी अस्पतालमा १५ जना सेवाग्राहीले सेवा लिएका छन् । बुधबार हटिया अस्पतालमा ४१ जनाले सेवा प्राप्त गरेका छन् । डा. केसीले अस्पतालमा सबै साधन प्राप्त भएमा बिरामीलाई सेवा प्रदान गर्न सजिलो हुने बताउनुभएको छ । केहि महिनादेखि डाक्टरविहीन भएको ५–५ शैयाको दुई नगर अस्पताल साउन महिनादेखि डा. गजल पन्त र डा. नरेन्द्र केसीद्वारा सञ्चालन भएको छ । नगर अस्पतालका दुबैजना डाक्टरले राजीनामा दिएसँगै उपमहानगरले डाक्टर, अनमी र अहेवको लागि आवेदन माग गरेको थियो । यस्तै, उपमहानगरपालिकाले ५ जना अहेब माग गरेकोमा ३३ जनाले आवेदन दिएका थिए । ४ जना अनमी माग गर्दा २९ जनाले आवेदन दिएका थिए ।

Exit mobile version