Home मुख्य समाचार एसईई नतिजाः ६६ विद्यालयको उत्तीर्ण दर २० प्रतिशतभन्दा कम

एसईई नतिजाः ६६ विद्यालयको उत्तीर्ण दर २० प्रतिशतभन्दा कम

हेटौंडाः मकवानपुर जिल्लाको ६६ वटा विद्यालयबाट २० प्रतिशतभन्दा कम विद्याथी उत्तीर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसर्ईई)–२०८० को नतिजाअनुसार जिल्लाका एक सय ३८ वटा विद्यालयमध्ये ६६ वटा विद्यालयले २० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन असफल भएका हुन् ।

एसईईमा जिल्लाका १७ वटा विद्यालयको उत्तीर्ण दर शून्य छ । एउटा संस्थागत र १६ वटा सामुदायिक विद्यालयबाट एसईई दिएका एक जना विद्यार्थी पनि उत्तीर्ण नभएका हुन् । एसईईमा विद्यार्थी सहभागी गराएका ५५ वटा विद्यालयले मात्र २० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएका छन् ।

विद्यार्थी उत्तीर्ण गराएका मध्ये जिल्लाको कैलाश गाउँपालिका, कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयले एक जनामात्र विद्यार्थी उत्तीर्ण गराएर जिल्लाकै कम १.८५ प्रतिशत नतिजा ल्याएको छ । भवानी माविबाट परीक्षा दिएका ५४ जना विद्यार्थीमध्ये ५३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । जिल्लाको एकसय ४ वटा विद्यालयबाट ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

मकवानपुर जिल्लाबाट एसर्ईई परीक्षामा ५ हजार ९ सय १९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३ हजार ७ सय ६८ जना विद्यार्थीको नतिजा एनजी आएको छ । एसईईमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत ३६.४९ रहेको छ भने एसईईमा अनुत्तीर्ण हुने विद्यार्थीको प्रतिशत ६३.५१ रहेको छ ।

एसईईमा एनजी ल्याउने अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन २३ गतेदेखि ग्रेडवृद्धि (मौका) परीक्षा सञ्चालन हुनेछ । ग्रेडवृद्धि परीक्षाका लागि मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकमा एउटा–एउटा परीक्षा केन्द्र तोकिएको छ । तोकिएको ८ वटा केन्द्रबाट ३ हजार ८ सय जना विद्यार्थीले मौका परीक्षा दिनेछन् ।

Exit mobile version