Home मुख्य समाचार हेटौँडा अस्पतालका करारका कर्मचारीको सेवा नवीकरण नगर्ने निर्णयप्रति एमाले मकवानपुरको ध्यानाकर्षण

हेटौँडा अस्पतालका करारका कर्मचारीको सेवा नवीकरण नगर्ने निर्णयप्रति एमाले मकवानपुरको ध्यानाकर्षण

नेकपा एमालेले जारी गरेको प्रेस विज्ञप्ति ।

हेटौँडाः बागमती प्रदेश सरकारले हेटौँडा अस्पतालमा अस्थायी करार दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यमर्की र कर्मचारीको करार नवीकरण नगर्ने निर्णयप्रति नेकपा एमाले मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्नुहुँदै नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले प्रदेश सरकारको उक्त निर्णयप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौँडा अस्पतालमा कार्यरत १ सय ४५ जना कर्मचारीहरुलाई बिना कारण कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य सचिवको गैरजिम्मेवारीपूर्ण निर्णयले करार नवीकरण नगरिएको अध्यक्ष पोखरेलले आरोप लगाउनुभएको छ । ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अस्थायी करार नवीकरण नगरिँदा अस्पतालबाट आम नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुने नेकपा एमालेको ठहर छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तहस–नहस पार्न लागेको उहाँले बताउनुभयो ।

अध्यक्ष पोखरेलले उक्त कार्य तत्काल रोकी अस्पतालको सेवा सुविधा सुचारु गर्न पनि माग गर्नुभएको छ । यसअघि गत शुक्रबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय र मातहतका सबै कार्यालयमा चालु आर्थिक वर्षको स्वीकृत अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीहरुको २०८१ असार मसान्तदेखि म्याद नथप्ने निर्णय गरेको थियो ।

अध्यक्ष पोखरेलले हाल वर्षाको समयमा आपत्कालिन उद्दार र राहत पु¥याउन बढी प्राविधिक तथा अन्य जनशक्तिको आवश्यकता पर्ने भन्दै यस्तो समयमा राजनैतिक पूर्वाग्रहपूर्ण ढङ्गबाट सेवालाई समेत प्रभाव पार्ने काम गर्न नहुने बताउनुभएको छ । उहाँले तत्काल उक्त निर्णय सच्याएर अस्थायी करार सेवाका कर्मचारीहरुको सेवा करार नवीकरण गरेर हेटौँडा अस्पतालमा बिरामीको चापलाई ध्यानमा राखेर सेवा सुविधालाई निरन्तरता दिन माग गर्नुभएको छ ।

Exit mobile version