Home कला नवसर्जक चौतारीको मासिक शृङ्खला भानु जयन्ती विशेष

नवसर्जक चौतारीको मासिक शृङ्खला भानु जयन्ती विशेष

भर्चुअल माध्यमबाट कार्यक्रम गरिँदैको तस्वीर ।

हेटौँडाः नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको आयोजनामा भर्चुअल माध्यमबाट शनिबार २५ औं नवसर्जक मासिक शृङ्खलाअन्तर्गत २११ औँ भानु जयन्ती विशेष कविता प्रतियोगिता, रचना वाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईँको सभाध्यक्षता तथा समालोचक महेश पौड्यालको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पौड्यालले भानुभक्तबाट नयाँ पुस्ताले परोपकारी बन्ने, सङ्घर्षशील तथा सिर्जनशील बन्ने तथा उनी जस्तै अग्रज स्रष्टाका कृतिको गहन अध्ययन गरी वास्तविक मूल्याङ्कन गर्नुपर्ने विचार राख्नुभयो । नवसर्जक साहित्य चौतारी नेपालको स्थापनासँगै बालबालिकाहरूले साहित्यका विविध विधा सिक्ने तथा खारिने अवसर प्राप्त गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नवसर्जकहरू परिधि सापकोटा, विद्यादेवी आचार्य, अमिश्का मैनाली, रिया गुप्ता, कुशल अधिकारी, आश्रीया आचार्य, आयुश्री सापकोटा, आरोही खतिवडा, प्रेरक गौतम, रुबस पराजुली, सुरभी सापकोटा, मानश्वी चापागाईँ, रुप्लेसा देवकोटा, अनासुया खनाल, कृन्शा मैनाली, कृतिका ढकाल गरी १६ जनाले प्रतियोगी रचना वाचन गरेका थिए । कविता प्रतियोगितामा हेटौँडा–५ स्थित जीएस निकेतन माविका कक्षा–८ का छात्र प्रेरक गौतम प्रथम, काभ्रेपलाञ्चोक जिल्लास्थित एसओएस हर्मन स्कुलको कक्षा–७ की छात्रा आयुश्री दाहाल र हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माविको कक्षा–६ की छात्रा अनासुया खनाल उत्कृष्ट तीन घोषित भए ।

उत्कृष्ट ३ नवसर्जकलाई बालमैत्री छात्रावास, हेटौँडा–४ ले पुरस्कार प्रायोजन गरेको नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा संस्थाका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी एवम् उपाध्यक्ष कृतिका लौडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । लेखन संस्कृति सँगसँगै पठन संस्कृतिको पनि प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा चौतारीकी वागमती प्रदेश सदस्य आकाङ्क्षा (निमिषा) निरौलाले आदिकवि भानुभक्तको ’प्रश्नोत्तर’ को कृतिसमीक्षा प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय सदस्य रोश्नी चौलागाईँले भानुभक्तको विषयमा रचित कविता वाचन गर्नुभएको थियो ।

संस्थाका परिकल्पनाकार÷संरक्षक दीपक गौतमले बालकवितासहित संस्थाको परिचय प्रस्तुत गर्नुभयो भने सल्लाहकार रमेशमोहन अधिकारीले भानुभक्त तथा चौतारीले कार्यक्रममा विविधतासहित निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा तीन दर्जनबढी नवसर्जकको उपस्थिति रहेको थियो । चौतारीले हरेक महिनाको चौथो शनिबार नियमित मासिक शृङ्खला सञ्चालन गर्दै आएको छ भने हप्ताको दुई दिन शुक्रबार र शनिबार भर्चुअल माध्यमबाट विधाविशेष नवसर्जक कार्यशाला सञ्चालन गर्दै आएको छ ।

Exit mobile version