Home अन्तरवार्ता “सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु”

“सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु”

सर्वज्ञा शर्मा बजगाई एसईई उत्तीर्ण विद्यार्थी, भुटनदेवी मावि

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतीजा सार्वजनिक भएको दुइ साता हुँदैछ । एसईईको नतीजाको विषयमा विविध कोणबाट टिप्पणी भएका छन् । एसईईको नतीजामा उत्तीर्ण हुने विद्यार्थीको दरलाई लिएर टिकाटिप्पणी भइरहेको छ । यसैबीच हेटौँडा–४ स्थित भुटनदेवी माविबाट एसईई उत्तीर्ण सर्वज्ञा शर्मासँग समृद्ध समाज दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा आयो । राम्रो नतीजा हासिल गरेको भन्दै शैक्षिक गुणस्तर सुधार समितिबाट सम्मानित हुनुभयो । नतीजाको विषयलाई लिएर परिवार र साथीसंगीको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
सर्वज्ञाः
एसईईमा मेरो ए ग्रेड आयो । नतीजालाई लिएर परिवारमा सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु । आफुले राम्रो नतीजा प्राप्त गरेको भएर धेरै खुसी पनि लागिरहेको छ ।

समाजः तपाइँले अपेक्षा गरेको नतीजा हो या अपेक्षा गरेको भन्दा राम्रो या नराम्रो हो ?
सर्वज्ञाः
अपेक्षा गरेको भन्दा त अझै कमजोर आएको हो । ए प्लस ल्याउने आश गरेकी थिएँ र मिहिनेत पनि त्यही अनुसारको गरेकी थिएँ । परीक्षामा हडबडिएँ । तरपनि यो यो नतीजा आएकोमा म खुसी नै छु ।

समाजः विषयगत हिसाबले कुन विषयमा कमजोर नतीजा आयो ? जसको कारणले तपाइँले अपेक्षा गरेको अनुरुप ए प्लस आएन ।
सर्वज्ञाः
मेरो नेपालीमा पनि पहिला भन्दा सुधार भएको हो । अरुभन्दा पनि यसपालि सामाजिक विषयमा अपेक्षा गरेको भन्दा कम नतीजा आएको हो । अरु विषयहरुमा पनि अझ मिहिनेत गर्नुपथ्र्यो जस्तो मलाई लागेको छ ।

समाजः तपाइँका साथीहरुको नतीजा चैं कस्तो आएको पाउनुभयो ?
सर्वज्ञाः
आ–आफ्नो मिहिनेतअनुसार नै साथीहरुको नतीजा आएको छ । राम्रो नतीजा आएको छ ।

समाजः अब कक्षा–११ को पढाई चाहिँ कुन विषय कसरी गर्ने भन्ने योजना बनाउनुभएको छ ।
सर्वज्ञाः
अहिले कक्षा–११ मा चाहिँ विज्ञान विषयमा बायोलोजी लिएर पढ्ने मैले विचार गरेकी छु ।

समाजः कक्षा–११ को विषय छनौटकै कुरामा बाबा पनि भुटनदेवी माविकै शिक्षक हुनुहुन्छ । तपाइँ आफ्नो रुचि अनुसार विषय छनौट गर्दै हुनुहुन्छ या घरपरिवारको सल्लाह अनुसार विषय छनोट गर्न लाग्नुभएको हो ?
सर्वज्ञाः
आफ्नै बुझाइले विषय छनौट गर्न लागेको हो । आफन्तहरुले चाहिँ के लिन्छौ, कसरी गर्छौ भन्ने कुरामा सल्लाह दिने गर्नुहुन्छ । मैले आफ्नै मनले विषय छनोट गरेको हो ।

समाजः अब पढाइ चाहिँ कहाँ गर्नुहुन्छ । हेटौँडामा नै बस्नुहुन्छ या कहाँ पढाइ गर्ने विचार छ ?
सर्वज्ञाः म
हेटौँडाकै भुटनदेवी माविमा अध्ययन गर्छु ।

Exit mobile version