Home मुख्य समाचार गौतम बुद्ध क्रिकेट रंगशालालाई थप बजेट रकमान्तर गर्ने बागमती सरकारको निर्णय

गौतम बुद्ध क्रिकेट रंगशालालाई थप बजेट रकमान्तर गर्ने बागमती सरकारको निर्णय

मन्त्रिरिषद् बैठकको निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता एवम् आन्तरिक ममिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ । फाइल तस्वीर ।

हेटौँडाः बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालालाई करिव २ करोड रुपैयाँ बजेट रकमान्तर गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधिन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षका लागि उक्त रकम भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको हो । प्रदेश सरकार र भरतपुर महानगरपालिका बीचको २०८० कात्तिक २१ को सहमतिअनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकम मध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो । प्रदेश सरकारले यसअघि नै सो रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको उहाँले बताउनुभएको छ । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उहाँको भनाई छ ।

उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिका बीच साझेदारी गर्ने सहमति भएअनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने गरी लागत अनुमान प्रतिवेदन तयार गरेको थियो । उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्डमा असार २९ गतेदेखि साउन ४ गतेसम्म हुने अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो ।

Exit mobile version