Home मुख्य समाचार एमाले–कांग्रेस गठबन्धन अग्रगमन हुन सक्दैनः माओवादी

एमाले–कांग्रेस गठबन्धन अग्रगमन हुन सक्दैनः माओवादी

हेटौँडाः नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले एमाले–कांग्रेस गठबन्धन अग्रगमन हुन नसक्ने टिप्पणी गरेको छ । आइतबार बसेको बैठकले एमाले–कांग्रेस सत्ता समीकरण सरकार गठन मात्र नभएको र सो गठबन्धन पश्चगमनतर्फ केन्द्रीत रहेको समिक्षा गरेको हो ।

वर्तमान समयको सत्ता–साझेदारी सहमति कांग्रेस, एमालेको आवरणमा अन्य शक्तिको स्वार्थमा रहेको बैठकमा सहभागी एक सदस्यले बताए । उनका अनुसार कांग्रेस–एमाले सत्ता साझेदारी संघीयता, गणतन्त्र र व्यवस्था माथिको चुनौति हो । वर्तमान व्यवस्था विरुद्ध एमाले–कांग्रेस सत्ता समीकरण बनेको बैठकमा समीक्षा भएको उनले बताए । एमाले–कांग्रेस सत्ता साझेदारी वर्तमान व्यवस्था माथिको हस्तक्षेप भएको उनको भनाई छ ।

‘अहिलेको नयाँ सत्ता समीकरण सरकार गठनका लागि मात्र होइन भन्ने माओवादी केन्द्रको संसदीय दलको ठम्याइ हो । यो गठबन्धन अग्रगामी हुन सक्दैन । ठूला शक्तिसँगको सत्ता साझेदारी सरकार चलाउन मात्र केन्द्रीत छैन । यो समीकरण व्यवस्था माथिको हस्तक्षेप हो । स्वार्थ शक्तिहरुले निर्माण गरेको सत्ता समीकरण पश्चगमनतर्फ केन्द्रीत रहेको छ’, उनले भने । उनका अनुसार एमाले–कांग्रेस सत्ता साझेदारी संघीयता, धर्मनिरपेक्ष, समानुपातिक समावेशीताको विरुद्धमा रहेको छ । संविधान संशोधनको नाममा एमाले–कांग्रेस गठबन्धनले संघीयता, समावेशीता र व्यवस्था माथि नै धावा बोल्ने काममा अग्रसर हुने उनले बताए ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीका अनुसार संसदीय दलको बैठकमा सत्ता गठबन्धन स्वभाविक प्रक्रिया भएको र त्यसका बारेमा सामान्य छलफल भएको छ । सत्ता समीकरण प्रदेशको कारण नभई केन्द्रबाटै भएकाले सोको परिणाम प्रदेशमा जोडिएर आउनु स्वभाविक भएको उहाँले बताउनुभयो । बैठकमा प्रदेश सरकार र आगामी योजनाको विषयमा केन्द्रले निर्देशित गरेअनुसार अघि बढ्ने विषयमा छलफल भएको उहाँको भनाई छ ।

अध्यक्ष सहयात्रीका अनुसार संविधान संशोधन राजनीतिक अस्थिरताको समाधान हुँदैन । संविधान संशोधन मात्र एमाले–कांग्रेसको सत्ता साझेदारी नभएको उहाँले टिप्पणी गर्नुभएको छ । राजनीतिक अस्थिरता अन्त्यका लागि संसदीय अभ्यासमा सोच र विचार परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । संसदीय अभ्यास सुधारका लागि समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

Exit mobile version