Home मुख्य समाचार प्रशासनिक केन्द्र निर्माण कार्यलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने बागमती सरकारको...

प्रशासनिक केन्द्र निर्माण कार्यलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने बागमती सरकारको निर्णय

बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय ।

हेटौँडाः बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अनुसार हेटौँडा–१७, हटियामा प्रदेश सरकारका प्रशासनिक निकायका भवन तथा संरचना निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गरेको हो । उक्त आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा प्रयोग हुने भएकाले जग्गा प्राप्तिमा सहजीकरण गर्न गौरवको आयोजनाको रुपमा समेट्न सिफारिस गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । वन क्षेत्रको जग्गाको भेगाधिकार प्राप्त गर्न सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने प्रावधानका अनुसार संघीय सरकार समक्ष सिफारिस गरिएको उहाँको भनाई छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरु संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, संचालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकुल नदेखिएका दफाहरु संशोधन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरु परिवर्तन गर्नुपर्ने देखिएकाले सो विधानलाई परिमार्जन परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तिका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

Exit mobile version