Home अन्तरवार्ता सञ्चित रकमबाट शिक्षक, कर्मचारीले सेवा सुविधा पाउनु पर्छ

सञ्चित रकमबाट शिक्षक, कर्मचारीले सेवा सुविधा पाउनु पर्छ

सचिन लामा, अध्यक्ष, संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मकवानपुर

मकवानपुरका केही संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले लकडाउनको अवधिका पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विद्यालय खुल्ने विषय अनिश्चित रहेको हुँदा आगामी दिनमा पनि पारिश्रमिक नपाउने त्रासले शिक्षक, कर्मचारी पीडित छन् । संस्थागत विद्यालयमा कार्यरत शिक्षकको संगठन संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले सरोकारवालालाई शिक्षक, कर्मचारीको सेवा, सुविधा दिलाउन ध्यानाकर्षण समेत गराएको छ । यसै सन्दर्भमा इस्टु मकवानपुरका अध्यक्ष सचिन लामासँग समृद्ध समाज दैनिकका संवाददाता रामनाथ कुँवरले गर्नुभएको कुराकानीः

समाजः संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले सेवा—सुविधा पाएनन् भनिरहनुभएको छ । सेवा—सुविधा नपाउनुको कारण के हो ?
लामाः वास्तवमा अहिले यो कोभिड–१९ ले विश्वलाई आक्रान्त बनाएको अवस्थामा नेपाललाई पनि अछुतो बनाएको छैन । पेशागत कुरामा मकवानपुरका संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुले गत २०७६ माघदेखि नै सेवा सुविधा नपाएको गुनासो छ ? यसमा नितान्त रुपमा भन्नुपर्दा विद्यालयले चैत मसान्तसम्मको शुल्क पनि असुली गरिसकेको र अहिले विद्यालय सञ्चालकहरुले आफ्नो रवैया प्रस्तुत गरेको हाम्रो गम्भीरतापुर्वक ध्यानाकर्षण भएको छ ?

समाजः कति विद्यालयहरुले अर्थात कुन—कुन विद्यालयहरुले शिक्षक कर्मचारीहरुको सुविधा उपलब्ध गराएनन् ?
लामाः मकवानपुर जिल्लामा माघ, फागुनदेखि नै तलब नदिएका थोरै विद्यालय छन् भने चैतसम्मको अधिकांश विद्यालयहरुले सुविधा उपलब्ध गराएका छन् । बैशाखदेखि केहि विद्यालयहरुले सहमति गरेर प्रतिशतको हिसाबले दिनेमा बार्गेनिङ गरिरहेका छन् । ति कुराहरु हाम्रो लागि अस्विकार्य हुनेछन् । किनभने कम्पनी ऐन अनुसार उहाँहरुले विद्यालय चलाएको अवस्थामा र श्रम ऐन अनुसार हेर्ने हो भने पनि शिक्षक कर्मचारीको सेवा सुविधा उहाँहरुले निकासा गर्नु पर्छ भन्ने हाम्रो ध्यानाकर्षण भएको छ ।

समाजः यतिबेला त विद्यालयहरु पनि मारमा छन् । यसलाई कसरी लिनुभएको छ ?
लामाः यसलाई हामीले प्राविधिक रुपमा हेर्दा हिजोको दिनमा दुई कठ्ठामा सुरु भएको विद्यालयहरु शिक्षक कर्मचारीहरुको सहयोगले विद्यालयहरु भौतिक रुपमा विकास भएको छ । त्यसैले कम्पनी ऐनअनुसार कम्तीमा पनि ६ महिनासम्म कम्पनी बन्द भएमा कर्मचारीहरुलाई सेवा सुविधा उपलब्ध गराउनु पर्छ । अहिले विद्यालय सञ्चालकहरुले शिक्षक कर्मचारीहरुलाई हेपाहा शैली देखाएको हो । अहिले चैतसम्मको शुल्क उठाएर पनि चैतसम्मको तलब नदिएको अवस्था छ । विद्यालयहरु नचलेको हो तर पनि उहाँहरुले सञ्चित गरेको रकमबाट शिक्षक, कर्मचारीले सेवा सुविधा पाउनु पर्छ । त्यहि अनुसार हामीले चरणवद्ध कार्यक्रमको तयारी पनि गरिएको छ ।

हामीले ध्यानाकर्षणपत्र प्याव्सन मकवानपुर, हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र शिक्षक महासंघ लगायतलाई ज्ञापनपत्रमा शिक्षक, कर्मचारीका समस्या, त्यसका जटिलताहरु समावेश गरेर चरणवद्ध रुपमा ज्ञपनपत्र बुझाएका छौं । सोही अनुरुप हाम्रो शुक्रबार पनि बुद्धचोकमा मौन प्रदर्शन पनि रहेको छ । हाम्रो राष्ट्रिय समितिले पुर्व झापादेखि पश्चिम बाँकेसम्म हाम्रो चरणवद्ध संघर्षको कार्यक्रमहरु अगाडि बढाएर आफ्नो सेवा सुविधा लिनको लागि हामी तत्पर रहने छौं ।

समाजः समस्यामै रहेका विद्यालय सञ्चालकहरुले कसरी भुक्तानी गर्ने ?
लामाः यदि समस्यामै विद्यालय हो भने ति विद्यालयहरुले उक्त विद्यालयहरुको शेयर चै विद्यालयका शिक्षक कर्मचारीहरुको नाममा हस्तान्तरण गर्नु पर्छ ।

समाजः अब स्थानीय सरकारसँग तपाईहरुले के अपेक्षा गर्नुभएको छ ?
लामाः स्थानीय सरकारसँग हामीले समन्वयकारी भूमिकाको अपेक्षा गरेका छौं । स्थानीय सरकारले हरेक समस्यालाई समाधान गरेर अगाडि बढिरहनु भएको छ । संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले पनि जनप्रतिनिधिलाई भोट दिएर जिताएकै हो । त्यसैले स्थानीय जनप्रतिनिधिहरुले हामीलाई हेर्ने दृष्टिकोण र गर्ने भूमिका चै सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छौं ।

समाजः विद्यालयहरुले सेवा सुविधा नदिएमा तपाईहरु के गर्नुहुन्छ ?
लामाः अब हामी चरणवद्ध आन्दोलनमा जान्छौं । इतिहास हेर्ने हो भने हिजोको दिनमा सरकारी विद्यालयहरुका शिक्षक, कर्मचारीहरुले पाइरहेको सेवा सुविधा नेपाल सरकारले पनि लिनुस् भनेर दिएको होइन्, शिक्षकहरुले वर्ग सङ्घर्ष गरेर प्राप्त गरेको हो । अहिले हामी पनि आफ्नो पारिश्रमिक, आफ्नो अधिकार र कर्तव्यलाई पनि महत्व दिएर अगाडि बढ्छौं ।

Exit mobile version