Home अर्थ/व्यापार छलफलका लागि सर्वदलीय बस्न सकेन, प्रदेश सभा बैठक प्रभावित

छलफलका लागि सर्वदलीय बस्न सकेन, प्रदेश सभा बैठक प्रभावित

हेटौँडाः बागमती प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट माथिको विवाद समाधान गर्न बोलाइएको बागमती प्रदेशको सर्वदलीय बैठक बस्न नसक्दा प्रदेशसभा बैठक नै प्रभावित बनेको छ । शुक्रबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठक सरकार पक्षको आन्तरिक असमझदारीले बस्न नसकेको बताइएको छ ।

सर्वदलीय बैठक बस्न नसकेपछि शुक्रबार बिहान ११ बजेलाई बोलाइएको प्रदेशसभा बैठक पनि अनिश्चित भएको छ । प्रतिपक्षी दलहरुले बिहिबारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको थियो । बजेटमा रहेको त्रुटि सच्याउन आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मन्त्रालयका कर्मचारीलाई दिएको निर्देशन कर्मचारीले पालना नगर्दा दुबै बैठक प्रभावित भएको बुझिएको छ ।

“बजेटको असन्तुलन, नीति तथा कार्यक्रम र बजेटमाथिको त्रुटि सच्याउने भनिएको थियो । सोहीअनुसार आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो”, एक कर्मचारीले भने, “तर अर्थमन्त्रीको निर्देशन कर्मचारीले मानेनन् ।” कर्मचारीको यस्तो जवाफपछि अर्थमन्त्री थपलियाले त्यसो भए बजेट नै पुनर्लेखन गर्न निर्देशन दिनुभएको थियो । तर कर्मचारीले मन्त्री थपलियाको यो निर्देशन पनि सुनेको नसुन्यै गरेपछि समस्या भएको बताइएको छ ।

Exit mobile version