Home अर्थ/व्यापार बागमती प्रदेशको आगामी आर्थिक बर्षको बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठसहित)

बागमती प्रदेशको आगामी आर्थिक बर्षको बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठसहित)

हेटौँडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शनिबार बसेको प्रदेशसभाको बैठकमा कुल बजेट मध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको छ ।

प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पूँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट रहेको छ । आगामी आर्थिक बर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजश्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजश्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक बर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक बर्षको तुलनमा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक बर्षका लागि प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

बागमती प्रदेश सरकारले प्रदेश सडक गुरुयोजनामा ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा सडक तथा पुल निर्माणलाई व्यवस्थित गर्न गुरुयोजना कार्यान्वयन गरेको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभएको छ । प्रदेश लोकमार्ग र प्रदेश मार्गको सीमा तोक्ने र निर्माण व्यवस्थित गर्न गुरुयोजना प्रभावकारी हुने उहाँले बताउनुभएको छ । विपद् जोखियुक्त वस्ती स्थानान्तरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँको भनाई छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Exit mobile version