हेटौँडाः बकैयाबाट निकासी गरिएको खानिजन्य माटो नियन्त्रणमा लिई जरिवाना तिराएर हेटौँडा उपमहानगरले छाडेको १५ वटा ट्रक मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तीर्थराज चिलुवालले रोक्नु भएको छ । माटो निकासीको विषयमा आशंका उब्जिएपछि उपमहानगरले जरिवाना तिराएर छाडे पनि आफूले रोक्न लगाएको प्रजिअ चिलुवालले बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिकाले प्रतिट्रक १८ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको थियो । उपमहानगरले छाडे पनि प्रजिअ चिलुवालले रोक्न भनेपछि हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडिबाट छुटेका ट्रकहरु पूर्वपश्चिम राजमार्गअन्तर्गत विभिन्न स्थानमा रोकिएको छ । खानिजन्य पदार्थ ढुवानीका क्रममा कागजपत्र नभेटिएको भनी नगर प्रहरीले शुक्रबार राती हेटौँडा–१७, हटियाबाट नियन्त्रणमा लिएको भनी समाचार सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी चिलुवालको ध्यानाकर्षण भएको थियो ।
माटो निकासीको विषयमा बुझ्न प्रजिअ चिलुवालले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका अध्यक्ष ललितबहादुर घलानसँग पनि समन्वय गर्नुभएको छ । “माटो ढुवानी र माटोकै स्तरको विषयमा पनि शंका उब्जिएपछि प्रहरीलाई रोक्न भनेको छु”, प्रमुख जिल्ला अधिकारी चिलुवालले समृद्ध समाजसँग भन्नुभयो, “जिल्ला समन्वय समिति र खानी विभागलाई समेत जानकारी गराएको छु । खानी विभागलाई समन्वय समितिमार्फत पत्र लेख्न भनेको छु । विभागका अधिकारीसँग पनि अनौपचारिक कुरा भएको छ । भोलि आइतबार विभागले प्रतिनिधि पठाएर माटो परीक्षणको प्रक्रिया अगाडि बढ्नेछ ।”

प्रजिअ चिलुवालले माटो लोड भएका ट्रकलाई हेटौँडा–११, थानाभर्याङस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै पार्किङ गरी राख्न निर्देशन दिनुभएको छ । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार प्रहरीले ६ वटा ट्रक मात्रै रोक्न सफल भएको जानकारी दिनुभएको छ । १५ वटा ट्रक मध्ये अन्य ट्रक पनि पहिचान गरी रोक्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । बकैया गाउँपालिका–४, सोवीबाट निकासी भइरहेको खानीजन्य माटो सामान्य माटो नभई खानीको बहुमूल्य हुन सक्ने अनुमान गरिए पनि उपमहानगरले थप अनुसन्धान केही नगरी जरिवाना गराएर छाडेको हो । बिदाको दिन समेत उपमहानगरले जरिवाना गराएर थप शंकास्पद हुने गरी ट्रकहरु छाडिएको हो ।
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले सामान्य माटोमा लाग्ने राजश्व लिएर खानीजन्य माटो बिक्री गरिरहेको जानकारी दिनुभएको छ । ट्रक चालकहरुले मकवानपुरको बकैया गाउँपालिका–४ बाट लोड गरिएको माटो अर्घाखाँची जिल्लास्थित सिमेन्ट उद्योगमा लैजान लागेको बताएका थिए । उनीहरुले सिमेन्ट उद्योगको नाम भने बताउन चाहेनन् । मकवानपुरको बकैया गाउँपालिका बहुमूल्य युरेनियमको खानी समेत भएकोले पनि अहिले माटो निकासीको विषय शंकास्पद देखिएको हो । बकैया गाउँपालिकामा केही समयअघि फलाम खानी भएको अनुमान गरी सरकारले प्रारम्भिक अध्ययन समेत गरेको बुझिएको छ ।