Home अर्थ/व्यापार हेटौंडा सिमेन्ट उद्योग चलाउन राजनीतिक एकता जरुरी छः बर्तौला

हेटौंडा सिमेन्ट उद्योग चलाउन राजनीतिक एकता जरुरी छः बर्तौला

हेटौँडा सिमेन्ट उद्योगमा उद्योग सञ्चालनको विषयमा आफ्ना धारणा राख्नुहुँदै प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौला ।

हेटौँडाः संघीय संसदमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक दलहरु एकतावद्ध भएर हेटौँडा सिमेन्ट उद्योग संचालन गर्नुपर्ने बताउनु भएको छ । जिल्लाका सबै राजनीतिक दलका नेतृत्वले उद्योग सञ्चालनका लागि एक भएर प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले उद्योग तथा उत्पादन क्षेत्रमा राजनीति गर्न नहुने पनि स्पष्ट पार्नुभएको छ ।

बिहिबार हेटौँडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीको निमन्त्रणामा उद्योग परिसर पुगेर प्रमुख सचेतक बर्तौलाले हेटौँडा सिमेन्ट उद्योग संचालनका लागि राज्यले अभिभावकत्व लिएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले तत्कालका लागि उद्योग संचालन गर्न केही रकम राज्यका तर्फबाट लगानी गर्नुपर्ने बताउनुभएको छ ।

‘राजनीतिक दलहरु हेटौँडा सिमेन्ट उद्योग संचालनको मुद्दामा एकतावद्ध हुनुपर्छ । उत्पादन र उद्योग संचालनमा राजनीति गर्न हुन्न । उद्योग संचालनका लागि सबैको साझा प्रयत्न जरुरी छ । उपलब्धी हुनेगरी उद्योगको विकास र संरक्षणमा काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । बर्तौलाले हेटौँडा सिमेन्ट उद्योग संचालनका लागि पहल गर्ने पनि बताउनुभयो । उद्योगमा थप आर्थिक लगानी गर्नुपर्ने परिस्थिति रहेकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको र उद्योगलाई निरन्तरता संचालन हुने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उद्योगको दीर्घकालीन संचालनका लागि नयाँ मोडलमा अघि बढ्नु पर्ने उहाँको धारणा थियो । उद्योग संचालनको मोडल तयार पार्नेगरी प्रयत्न भइरहेको र उद्योगमा नयाँ प्रविधि जडान गरी संचालनका लागि लगानीसहितको प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिको चरणमा रहेको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयसँग १ अर्ब १२ करोड रुपैयाँ माग गरी दीर्घकालीन सोँचसहित योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

‘३८ वर्ष पुरानो सिमेन्ट उद्योगको टेक्नोलोजीले उद्योग संचालन हुन सक्दैन । प्रविधि परिवर्तन गरेर निजी उद्योगसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था बनाउनु पर्छ । पहिलो चरणमा ५०/६० करोड रुपैयाँ लगानी गरेर उद्योग निरन्तर चल्ने र कर्मचारी तथा अवकास प्राप्त कर्मचारीको रकम भुक्तानी गर्नुपर्छ । अहिले अनिवार्य दायित्व मात्र पूरा गर्न सकेको खण्डमा ५/७ महिना उद्योग राम्रोसँग संचालन हुन सक्छ । त्यसका लागि संघीय सरकारसँग स्रोत व्यवस्थापन गर्ने प्रक्रिया चलिरहेको छ ।’ उहाँले भन्नुभयो ।

सरकारले उद्योग संचालनको विकल्पका विषयमा छलफल गर्नुपर्ने उहाँको भनाई छ । बर्तौलाले सरकारले पहिलो प्राथमिकतामा २ अर्ब रुपैयाँ ऋणको व्यवस्था गरेर उद्योग संचालनको वातावरण बनाउनुपर्ने अथवा सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडलमा उद्योग संचालन गर्नुपर्ने बताउनुभयो । उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले उद्योग सञ्चालनका लागि संघीय संसदमा एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाको पहलकदमी महत्वपूर्ण रहेको बताउनुहुँदै आगामी दिनमा पनि उहाँको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आफूले आवश्यक समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नुभएको छ ।

Exit mobile version