Home मुख्य समाचार थानाभर्याङको विद्युत सवस्टेशन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

थानाभर्याङको विद्युत सवस्टेशन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

थानाभर्याङ विद्युत सवस्टेशन

हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, थानाभर्याङमा नवनिर्मित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । सवस्टेशन उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड भोलि (शुक्रबार) हेटौँडा आउने कार्यक्रम तय भएको छ ।

हेटौँडा सवस्टेसनका आयोजना प्रमुख शुक्रराज देवकोटाका अनुसार प्रधानमन्त्री प्रचण्डले हेटौंडा ४००/२२०/१३२/११ केभी सवस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । देशकै तेस्रो ठूलो उक्त सवस्टेशनको निर्माण सम्पन्न भएसँगै चार्जिङ गर्ने काम समेत भइसेकको उहाँले जानकारी दिनुभएको छ । सवस्टेशन निर्माणपछि पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार आउने उहाँले बताउनुभयो । सो सवस्टेशनले हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने आयोजना प्रमुख देवकोटाको भनाई छ ।

हेटौँडा सवस्टेसनबाट इनरुवा सवस्टेसनसम्म २८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो । ढल्केबर–इनरुवा १५४ किलोमिटरको प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ भने हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनको निर्माण कार्य पनि पूरा भइसकेको प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

हेटौँडा–ढल्केबर खण्डको १३४ किलोमिटर प्रसारणलाइन भने निर्माणाधीन रहेको उहाँले बताउनुभयो । उहाँले हेटौंडा–ढल्केबर खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १७ मा निर्माणको काम केही बाँकी रहेको जानकारी दिनुभएको छ ।

Exit mobile version