Home मुख्य समाचार बजेटको विषयमा बागमतीमा लफडा, मन्त्रालयको बजेट नै नबनाउने मन्त्रीको चेतावनी

बजेटको विषयमा बागमतीमा लफडा, मन्त्रालयको बजेट नै नबनाउने मन्त्रीको चेतावनी

हेटौँडाः बजेट सिलिङका विषयलाई लिएर बागमती प्रदेश मन्त्रिपरिषद् बैठकमा लफडा भएको छ । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा बजेट सिलिङ कम भएको भन्दै मन्त्री र अर्थ मन्त्री तथा मुख्यमन्त्री बीच वादविवाद भएको हो ।

बैठकमा बजेट सिलिङ घटाएर पठाएको भन्दै मन्त्रीहरुले गुनासो गरेका थिए । मंगलबार साँझ ३ घण्टा बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरुले बजेट सिलिङ कम हुँदा नागरिकको माग अनुसारको योजनाहरु समेट्न नसकेको बताएका थिए । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा १५ प्रतिशत बजेट सिलिङ घटाएर पठाएको भन्दै उनीहरुले मन्त्रिपरिषद् बैठकमा गुनासो गरेका हुन् ।

बजेटका विषयमा मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र अन्य मन्त्रीहरु बीच चर्काचर्कीको स्थिति बनेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मुख्यमन्त्री र आर्थिक मामिला तथ योजना मन्त्रीलाई बजेट सिलिङ नपुगेको र बढाउन आग्रह गर्दै छलफल भएको बताए । छलफलमा मुख्यमन्त्री र अर्थ मन्त्रीले सिलिङ बढाउन नसक्ने बताएको र त्यसको प्रतिउत्तरमा मन्त्रीहरुले नागरिक, स्थानीय तह र सांसदहरुले सिफारिस गरेको योजना समावेश नहुँदाको परिस्थिती बारे जवाफदेही बन्न भनेका थिए ।

‘बजेटको सिलिङ कम भएको विषयमा विभागीय मन्त्रीहरुले मुख्यमन्त्री र अर्थ मन्त्रीसँग गुनासो गरेका हुन् । “उहाँहरु सिलिङ थप गर्न नहुने भन्दै अडानमा हुनुहुन्छ । हामीले आवश्यकता र माग अनुसार बजेट दिन नसक्ने अवस्था रहेकाले सम्बन्धित स्थानीय तह, सांसद र नागरिकका विषयमा स्वयम् जवाफदेही बन्न भनेका छौं”, उनले भने । बैठकमा सहभागी प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बजेट सिलिङ अनिवार्य दायित्व र नियमित कार्यक्रमका लागि मात्र आएको बताए । बजेट सिलिङ चालुको भन्दा कम प्राप्त हुँदा पूँजीगत तर्फको खर्च कटौति भएकाले नागरिकको माग र आवश्यकता सम्बोधन गर्न सक्ने अवस्था नरहेकाले मन्त्रिपरिषद् बैठकमा छलफल भएको उनले बताए ।

“सरकार पैसा छैन भनिरहेको छ । हाम्रो माग अनुसार पैसा आउन सकेको छैन । हामी नागरिकको माग सम्बोधन भएन बजेट सिलिङ बढाउन भनिरहेका छौं । अनिवार्य दायित्व र नियमित कार्यक्रमका लागि मात्र बजेट सिलिङ पठाइएको छ”, उनले भने, ‘नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभुत क्षेत्रका योजना समेट्न मन्त्रालयलाई कठिन भइहरेको छ । स्थानीय तह र सांसदहरुले माग गरेको योजनामा हाल्ने पैसा मन्त्रालयमा छैन । यस परिस्थितिमा सरकार बजेट सिलिङ बढाउन हुँदैन भन्नेमा अडान कायम राखेर बसेको छ ।”
उनका अनुसार मन्त्रालयमा कम सिलिङ पठाएर मुख्यमन्त्री र अर्थ मन्त्रीले ठुलो रकम राख्ने र अनुकुलताको आधारमा विनियोजन गर्ने सरकारको रणनीति रहेको मन्त्रीहरुको आशंका रहेको छ । बजेट सिलिङ पठाउने विषयमा मुख्यमन्त्री र अर्थ मन्त्रीको प्रवृत्ति ठिक नभएको उनको भनाई छ ।

“आफू अनुकुल चलाउन ठुलो रकम अर्थ र मूख्यमन्त्रीले चलाउने गरी राखिएको छ भन्ने अशंका हाम्रो हो । उहाँहरुले गरेको व्यवहार र प्रस्तुति ठिक भइरहेको छैन । पैसा पठाए जनताको काम हुन्छ अन्यथा बजेटमा सम्बोधन हुँदैन । जवाफ उहाँहरुले नै दिने हो”, उनले भने । प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यका अनुसार विभागीय मन्त्रालयको सिलिङ कम भएको विषयमा मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले प्रश्न गरेका हुन् । नागरिकको आवश्यकता बढ्दो क्रममा रहेका बेला अर्थ मन्त्रालयले बजेट सिलिङ घटाउँदा समस्या भएको उनले बताए ।
“बजेट निर्माणको चरण सुरु भएदेखि मन्त्रालयमा बजेट माग गर्नेको चाप छ । तर, सिलिङ कम पठाउँदा सम्बोधन गर्न सक्ने अवस्था छैन । सो विषयमा मुख्यमन्त्री र अर्थ मन्त्रीलाई ध्यानाकर्षण गराइएको हो”, उनले भने । प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले मन्त्रालयले बजेट नबनाउने बताएकी छिन् । मन्त्रिपरिषद् बैठकमा समेत सशक्त रुपमा प्रस्तुत भएकी उनी तत्कालको सिलिङमा मन्त्रालयले बजेट नबनाउने उनले बताइन् ।

प्रदेशको हेरक वडा र पालिकामा खेल मैदान निर्माणको योजना बनाउने सरकारले मन्त्रालयको बजेट सिलिङ ५६ करोडको पठाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । अनिवार्य दायित्व व्यहोर्ने र गत बर्षको खर्च तिर्न नै नपुग्ने गरी बजेट सिलिङ पठाएका कारण आफूले बजेट निर्माण नगर्ने मन्त्रिपरिषद् बैठकमा नै बताएको उनको भनाई छ । प्रदेश सरकारको गत आर्थिक बर्षको बजेटमा सो मन्त्रालयले १ अर्ब २२ करोड रुपैयाँको सिलिङ पाएको र चालु आर्थिक वर्षको सिलिङमा समेत घटाएर पठाएको उनको भनाई छ । चालु खर्च र नियमित कार्यक्रम बाहेक क्रममागत र बहुबर्षे तथ स्रोत सुनिश्चितता गर्नुपर्ने योजनामा समेत नपुग्ने गरी सिलिङ पठाएकाले बजेट निर्माण नगर्ने उनले बताइन् ।

सो विषयमा मन्त्रालयका कर्मचारीको तलब भत्ता र अन्य खर्चहरुको व्यवस्थापन गर्न अर्थ मन्त्रीलाई जानकारी गराएको उनले बताइन् । १ अर्ब बजेट सिलिङ प्राप्त नभएसम्म बजेट निर्माण कार्य नगर्न मन्त्रालयमा निर्देशन गरेको उनको भनाई छ । उक्त आग्रहपछि अर्थ मन्त्रीले बजेट सिलिङ थप गरेर पठाउने आश्वासन दिएको उनले बताइन् ।

Exit mobile version