Home मुख्य समाचार एमाले मकवानपुर अधिवेशनः रघुनाथ खुलालले उम्मेदवारी फिर्ता लिए

एमाले मकवानपुर अधिवेशनः रघुनाथ खुलालले उम्मेदवारी फिर्ता लिए

रघुनाथ खुलाल अध्यक्ष, मदन भण्डारी फाउन्डेसन मकवानपुर शाखा

हेटौँडाः नेकपा एमाले मकवानपुरको जारी १२ औं अधिवेशनमा अध्यक्षका आकांक्षी रघुनाथ खुलालले उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्षका आकांक्षी खुलालले उम्मेदवारी फिर्ता लिनुभएसँगै अध्यक्षका आकांक्षीको संख्या ४ जनामा सीमित भएको छ ।

निर्वाचन समितिले अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी कायम रहेको अन्तिम नामावली प्रकाशन गरेको छ । हिजो शनिवार साँझ ६ बजेसम्म निर्धारण गरिएको मनोनयन दर्ताको समयमा अध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गरेका थिए । अध्यक्ष पदमा देवराज रिमाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल र लालबहादुर थापाको उम्मेदवारी कायम रहेको हो । अध्यक्ष पदका आकांक्षी खुलालले आन्तरिक सहमतिका लागि उम्मेदवारी फिर्ता गरेको बताइएको छ । सहमतिका लागि तयारी गरिएपनि उम्मेदवारी फिर्ता गर्न कसैले इच्छा नदेखाएपछि खुलालले नाम फिर्ता लिनुभएको हो ।

उपाध्यक्ष पदका लागि परेको ४ जनाको उम्मेदवारी कायम रहेको छ भने सचिवमा ३ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलालको उम्मेदवारी कायम रहेको छ । सचिव पदमा ५ जनाको उम्मेदवारी परेकोमा ३ जनाको कायम रहेको छ । सचिव पदमा मदन कुमार दाहाल, सीता विष्ट र राजन थापाको उम्मेदवारी कायम भएको छ । सचिव पदमा उम्मेदवारी दिएका सुमित्रा काफ्ले, नरहरि महतले नाम फिर्ता लिएका हुन् ।

त्यस्तै उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी कायम रहेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी कायम रहेको छ । नेकपा एमाले मकवानपुरको जारी अधिवेशनमा ७ सय ७७ प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

Exit mobile version