Home मुख्य समाचार हेटौँडामा मनायो ५ संस्थाले विश्व धुम्रपानरहित दिवश

हेटौँडामा मनायो ५ संस्थाले विश्व धुम्रपानरहित दिवश

सचेतनामूलक कार्यक्रमपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडामा विभिन्न संघ, संस्थाहरुले विश्व धुम्रपानरहित दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल स्वयंसेवी रक्तदाता समाज, रोटरी क्लब अफ हेटौंडा र भुवनेश्वर सेवा समितिको संयुक्त पहलमा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावबारे प्रवचन र निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका जिल्ला अध्यक्ष डा. हरी खड्काले धुम्रपान के हो ? धुम्रपानको सेवनले मानिसमा के कस्तो रोग लाग्छ ? चुरोटमा पाइने केमिकलले मानव स्वास्थ्यमा पार्ने असर र निष्क्रिय धुम्रपानको असरको बारेमा जानकारी गराउनुभयो । यस्तै नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले बजेटमा सुर्तीजन्य पदार्थको करमा खासै वृद्धि हुन नसक्दा सरकार चुकेको र सरकारले राजस्व गुमाउनुका साथै सुर्तीजन्य पदार्थको उत्पादनकर्तालाई फाइदा पुग्ने गरेको बताउनुभयो ।

यस वर्ष बालबालिकाहरुलाई सुर्तीजन्य पदार्थ उद्योगको हस्तक्षेपबाट जोगाआंै भन्ने नाराका साथ दिवस मनाएको छ । उहाँले विद्यालयमा बालबालिकालाई लक्षित गरी उनीहरुलाई धुम्रपानका बारेमा बेलैमा सचेत पु¥याई विभिन्न कार्यक्रम संचालन गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरी विद्यालयको वरपर सुर्तीजन्य पदार्थको विक्री वितरणको अवस्थाको बारेमा अनुगमनमा सहकार्य गर्नुपर्ने आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।

यस्तै नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष विजय कुमार वैद्यले विभिन्न देशहरुमा सुर्तीजन्य पदार्थको प्रयोगबाट महिला, पुरुष र बालबालिका परेको असरको बारेमा तथ्यांक प्रस्तुत गर्नुहुँदै अबको कार्यक्रम सुर्तीजन्य पदार्थबाट बालबालिकालाई हुन सक्ने असरबाट जोगाउने खालका कार्यक्रमहरु बनाउनुका साथै स्थानीय सरकारलाई यस बारेमा पैरवी गर्न आवश्यक रहेको बताउनुभयो । पाँच वटा संस्थाको पहलमा संयुक्त रुपमा सुर्तीजन्य पदार्थको हानीबाट मानवलाई जोगाउने खालका सचेतनामुलक कार्यक्रम संचालन गर्ने समेत निष्कर्ष निकालेको जनाएको छ ।

हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट मानिसले अकालमा मृत्युवरण गरिरहेको परिप्रेक्षमा सुर्तीजन्य पदार्थको सेवनबाट हुन सक्ने गम्भीर परिणामहरुको बारेमा सचेतना गर्ने अभिप्रायले हरेक वर्ष मे ३१ का दिन विश्व स्वास्थ्य संगठनको आह्वानमा विश्वभरिनै विश्व धुम्रपानरहित दिवस मनाउने गरिन्छ । नेपालमा नेपाल अर्बुद रोग निवारण संस्थाले यस दिवशको अगुवाई गर्दै मनाउने गरिएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष विजय कुमार वैद्यको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाका सभापती माधव अधिकारी, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष हरिवंश भेटवाल, रोटरी क्लबको भोकेशनल डाईरेक्टर सुुदर्शन ढकाल, रोटरी क्लबका पूर्वअध्यक्ष रामप्रसाद शर्मा, नेपाल हृदयरोग निवारणको सल्लाहकार भागिरथ शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समुहको अध्यक्ष पूर्ण अर्याल, भुवनेश्वर सेवा समितिका अध्यक्ष जगन्नाथ पाण्डे र नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुरको निवर्तमान सभापती कपिला जोशी लगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version