Home मुख्य समाचार बागमती प्रदेशले वन पैदावर आपूर्ति समिति गठन गर्ने

बागमती प्रदेशले वन पैदावर आपूर्ति समिति गठन गर्ने

हेटौंडाः बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले प्रदेशका जिल्लाहरुमा वन पैदावर आपूर्ति समिति गठन गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेलले ७८ बुँदे मन्त्रालयको भावी कार्यदिशाको बारेमा जानकारी गराउनुभएको हो ।

मन्त्री पोखरेलले वन क्षेत्रमा नीतिगत सुधारको लागि वन पैदावरको सहज आपूर्तिका लागि प्रदेशका जिल्लाहरुमा समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेशमा कुल १० लाख ९० हजार ८ सय ८० हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । प्रदेशको कूल भूभागको ५३.७ प्रतिशत वनले ढाकेको छ । प्रदेशमा रहेको ४० प्रतिशत सामुदायिक वन उपभोक्ता समूह निष्कृय भएकाले वन डढेलो नियन्त्रण हुन नसकेको उहाँको भनाइ छ ।

मन्त्री पोखरेलका अनुसार मन्त्रालयले साउनबाट हर्वल चिया उत्पादन गरेर प्रयोगमा ल्याउने बताउनुभयो । प्रदेशको प्रमुख प्राकृतिक श्रोतको रुपमा रहेको वन क्षेत्रले प्रदेशको महत्वपूर्ण हिस्सा ओगटेको र मानिसको जीवनयापनसँग प्रत्यक्ष जोडिएकोले वन क्षेत्रको समुचितरुपमा व्यवस्थापन गर्न सके समग्र देशको समृद्धिको प्रमुख आधारस्तम्भ बन्न सक्ने उहाँको भनाइ छ ।

प्रदेशको नवीन कार्यक्रमअन्तर्गत् ‘हरित शहर हरियाली क्षेत्र’ निर्माण गर्न स्थानीय तहसँगको सहकार्यमा घरको नक्सापास गर्दा एक घर एक विरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने मन्त्री पोखरेलले बताउनुभयो । मन्त्रालयले वन संरक्षण व्यवस्थापका लागि डिभिजन वन कार्यालयहरुमार्फत् वनको अवस्था, उपभोक्ताको चाहना तथा क्षमताअनुसार दिगो वन व्यवस्थापन कार्यविधि २०७९ अनुसार उत्पादनशील वन क्षेत्रमा वन व्यवस्थापन तथा सदुपयोगको कार्य गर्ने बताउनुुभयो । बाँझो, पर्ती, ऐलानी तथा अतिक्रमित जग्गाहरुको लगत अद्यावधिक गरी संरक्षण तथा हरियाली विकासका कार्य प्रारम्भ गर्ने उहाँको भनाइ छ ।

यस्तै, सरकारी कार्यालय तथा वन व्यवस्थापन समूहले खरिद गर्ने काष्ठजन्य, जडीबुटी, फलफूल तथा गैरकाष्ठ बिरुवाको गुणस्तर नियन्त्रण तथा सुनिश्चितताको लागि मापदण्ड लागू गर्ने उहाँले बताउनुभयो । मन्त्रालयले वन जलाधार व्यवस्थापन तथा वातावरण संरक्षण गर्न सुख्खाग्रस्त क्षेत्रमा ‘एक टोल एक पुनर्भरण पोखरी’ अभियान सञ्चालन गरी पानी मुहान संरक्षण र संरक्षण पोखरी निर्माण कार्यअन्तर्गत् वर्षमा ४ सय वटा जल पुनर्भरण पोखरी निर्माण गरिने उहाँको भनाइ छ ।

सुन्दर शहर निर्माणका लागि प्लाष्टिकमुक्त प्रदेशको व्यवस्थाको लागि नीतिगत पहल गरी स्थानीय तहसँगको समन्वय एवम् सहकार्यमा कार्यक्रम सञ्चालन गरी वातावरणीय प्रदूषण गर्नेलाई नियमनको दायरामा ल्याउने मन्त्री पोखरेलको दाबी छ । प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा रहेको हात्तीसार संग्रहालयलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थप संरक्षण तथा व्यवस्थापन गर्ने भएको छ । प्रदेशमा राजधानीसहित ३ स्थानमा हावाको गुणस्तर परीक्षण उपककरण जडान गरिने भएको छ ।

Exit mobile version