Home अन्तरवार्ता कक्षा कोठाका जान्छु मलाई छुट्टै उर्जा मिल्छ

कक्षा कोठाका जान्छु मलाई छुट्टै उर्जा मिल्छ

अमृतकुमार लामा शिक्षक, जनता आधारभूत विद्यालय हरिहरपुरगढी गाउँपालिका, सिन्धुली

रोजगारी, आम्दानी, बचत र सुख आम मानिसको आधारभूत योजनामा रहन्छ । मकवानपुरको ग्रामीण क्षेत्र बागमती गाउँपालिकामा जन्मे, हुर्केका अमृत कुमार लामाले मकवानपुरको बकैया गाउँपालिकाको एक विद्यालयमा ५ वर्ष निजी स्रोतको शिक्षकको रुपमा काम गर्नुभयो । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण निजी स्रोतको शिक्षकको जागिर छाडेर लामा २०७२ सालमा दुवई पुग्नु भयो । करिब ७ वर्ष खाडीमा श्रम गरेपछि २०७८ सालमा देश फर्कनुभएका लामाले २०८० सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा प्राथमिक तहको शिक्षकमा छनोट भएर अहिले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनता आधारभूत विद्यालयको शिक्षकको रुपमा सेवा सुरु गर्नुभएको छ । देशमै शिक्षक भएर काम गर्दा गर्दै विदेश पुगेर श्रम गरेको ७ वर्षपछि पुनः देशमै सेवा गर्न फर्कनुभएका लामासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः स्थायी शिक्षक भइसकेपछि तपाईको पहिलो महिनाको अनुभव कस्तो रहेको छ ?
लामाः
अहिले खासै पढाई भएको छैन । भर्ना अभियान चलिरहेको छ । त्यहाँको अवस्था बुझ्दा मुख्य त राई बस्ती भएको र अलि पिछडिएको अनुभव गरे । त्यहाँ स्थायी शिक्षक पनि कम रहेका छन् । ३ जना मात्र स्थायी र बाँकी अस्थायी हुनुहुन्छ । विद्यार्थी संख्या पनि कम छ । जस कारण शिक्षाको वातावरण पनि कम प्रभावकारी रहेको महसुस गरेको छु । धेरै मिहिनेत गर्न जरुरी रहेको छ ।

समाजः विद्यालयले भर्ना अभियानमा के–के क्रियाकलापहरु गरेको छ ?
लामाः
हामी त्यहाँ गइसकेपछि पहिला स्टाफ बैठक बस्यौँ । मेरो पहलमा नै बैठक बसिएको हो । कसरी भर्ना अभियान चलाउने के–के नारा राख्ने र विद्यार्थीहरुको नियमित उपस्थितिको विषयमा छलफल गरिएको थियो ।

समाजः विद्यार्थी संख्या कति वृद्धि भयो ?
लामाः त्
यहाँको बस्ती पातलो छ र आसपासमा नै २ वटा विद्यालयहरु पनि रहेको हुँदा विद्यार्थी संख्या न्यून रहेको छ । साना विद्यार्थीहरु ठूलो दादा–दिदीसँग अरु विद्यालयमा जाने गरेका छन् । यहि कारण यहि वर्षबाट ८ कक्षासम्म अध्ययन हुने विद्यालय घटेर ५ कक्षामा झरेको छ ।

समाजः तपाई ७ बर्ष विदेशमा श्रम गरी नयाँ जोश लिएर आउनुभएको छ, तपाईले कतिको मिहिनेत गर्नुपर्ने छ अब ?
लामाः
समुदायको प्रकृति हेर्दा नसकिने पो हो कि भन्ने लाग्छ । तर पनि जीवन हो, हार मान्नु हुँदैन । म आफु जस्तै टिम बनाउने हो भने अझ जोशका साथ काम गर्ने छु ।

समाजः तपाईको विद्यालयमा तपाइँसहित जम्मा २ जना मात्रै स्थायी शिक्षक हुनुहुन्छ ?
लामाः
विद्यालयमा ११ जना शिक्षक, कर्मचारी कार्यरत छौं । जसमा एक जनाको स्थायी शिक्षा जो प्रधानाध्यापक हुनुहुन्छ । उहाँको पनि २ बर्ष कार्यकाल मात्र बाँकी रहेको छ ।

समाजः तपाई जुन भिजनका साथ अहिले अघि बढ्नुभएको छ, अबको दिनमा कस्तो भूमिका निर्वाह गर्छु भन्ने सोच राख्नुहुन्छ ?
लामाः
म सामुदायिक विद्यालयलाई निजीको हाराहारीमा लग्न चाहन्छु । यसका लागि विद्यार्थीहरुको निरन्तर मूल्याङ्कन हुनु पर्छ । यो त्रैमासिक नभई प्रत्येक एकाई सकिएपछि परीक्षा लिने गर्ने हो भने म सामुदायिक विद्यालयलाई निजीको सरह पु¥याउन सफल हुनेछु । म धेरै नियममा टेकेर काम गर्ने छु ।

समाजः तपाईले विद्यालयमा के कमजोरी देख्नुभयो ?
लामाः
दोहारो कमजोरी रहेको छ । शिक्षक विद्यार्थी दुबैको उपस्थिति कम छ । विद्यालयमा भौतिक अवस्था, वातावरण सबै उचित छ । बस कमजोरी भनेको नियमित उपस्थित नहुनु हो ।

समाजः तपाईले आफ्नो अध्ययन सकाएपछि निजी श्रोतको रुपमा काम गर्नु भएको थियो, के कारणले तपाई विदेश जानुभयो ?
लामाः
त्यो समयमा विदेश जाने लहर थियो । यता कामको थोरै पारिश्रमिक थियो । परिवार धान्न मुस्किल हुने अवस्था थियो र आर्थिक दवावका कारण विदेशिएको हुँ ।

समाजः विदेशको अनुभव कस्तो थियो ?
लामाः
म विदेश गएपछि पैसा त थियो तर धेरै झन्झटहरु भोगेँ । दिनको १८ घण्टा काम गर्नु पथ्र्याे । निन्द्रा नपुग्ने र काम पनि धेरै गाह्रो हुने । यत्तिको मिहिनेत त मैले आफ्नो देशमा गरेको भए भन्ने सम्झिएँ र स्वदेश फर्किएर आएँ ।

समाजः तपाई शिक्षाशास्त्र अध्ययन गर्नुभएको मान्छे, र शिक्षण पेशामा पनि हुनुहुन्थ्यो । तपाईले आफ्नो भविष्य कस्तो देख्नुहुन्थ्यो ?
लामाः
मलाई शिक्षण पेशा सानोदेखि नै मन पर्ने पेशा हो । जब म पढाउन कक्षा कोठाका जान्छु मलाई छुट्टै उर्जा मिल्छ । र म यो पेशामा आफ्नो भविष्य सुन्दर देख्छु ।

समाजः तपाईले परीक्षाका लागि कसरी तयारी गर्नुभयो ? अरुको प्रतिक्रिया के थियो ?
लामाः
म जे सोच्छु त्यसमा गहिरो लाग्ने गर्छु । परीक्षाका लागि आफैंले पढेँ । र परीक्षामा सफल भएँ । परीक्षाको तयारी ट्युसनमा मात्र सीमित नभई स्वअध्ययन गरेँ । यसबीच मलाई मेरो परिवारको पनि साथ थियो ।

समाजः तपाईले सोच्नु भएको विद्यालय पाउनुभयो ?
लामाः
मलाई विद्यार्थी धेरै भएको र धेरै मिहिनेत गर्नुपर्ने विद्यालय चाहिएको थियो । तर यो विद्यालय त्यस्तो छैन । विद्यार्थी संख्या थोरै भए पनि त्यसैलाई १०० मा १०० नतिजा ल्याउने बनाउन सके त्यो पनि उपलब्धि हुन्छ ।

Exit mobile version