हेटौंडाः शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षाको पहिलो दिन मकवानपुर जिल्लाका १ सय ३० जना परीक्षार्थी अनुपस्थित भएका छन् । यस वर्ष ७ हजार ६ सय ९० जना विद्यार्थीले परप्क्षा फारम भरेकोमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा १९ वटा परीक्षा केन्द्रबाट १ सय ३० जना परीक्षार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत जयप्रकाश प्रसाद कुशवाहले जानकारी दिनुभयो ।
मकवानपुरमा कक्षा १२ सम्म पठनपाठन हुने ५३ वटा विद्यालय रहेकोमा यसवर्ष १९ वटा परीक्षा केन्द्र तोकिएको थियो । १९ वटा परीक्षा केन्द्रमध्ये सिद्धार्थ मावि हेटौंडा र मकवानपुर बहुमुखी क्याम्पसमा आंशिकतर्फ एक जना पनि विद्यार्थी अनुपस्थित नभएको उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै हेटौंडा क्याम्पसमा २३ जना विद्यार्थी अनुपस्थित भएका थिए ।
यसवर्ष नियमिततर्फ ५ हजार ५ सय ८७ जना परीक्षार्थीले परीक्षा फारम भरेका थिए । यस्तै, २०७८ र २०७९ सालमा पहिलो पटक परीक्षा दिएर ग्रेडवृद्धि परीक्षामा सहभागी एक हजार ९ सय ६२ जना र २०७६ र २०७७ मा परीक्षा दिन सुरु गरेका १ सय ४१ जनाले परीक्षा फारम भरेका थिए ।
