Home मुख्य समाचार साहित्य संगम मकवानपुरद्वारा १४ जना स्रष्टालाई सम्मान

साहित्य संगम मकवानपुरद्वारा १४ जना स्रष्टालाई सम्मान

सम्मान ग्रहणपछि स्रष्टाहरु ।

हेटौंडाः साहित्य संगम मकवानपुरले १४ जना स्रष्टालाई सम्मान गरेको छ । शनिबार ३ सय ४२ औं नियमित साहित्य सन्ध्याको अवसरमा आयोजित कार्यक्रममा मकवानपुर जिल्लामा रहेर २०८० सालमा कृति प्रकाशन गरेर साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कृति प्रकाशनार्थ सम्मान २०८० बाट कदरपत्रसहित १४ जना स्रष्टालाई सम्मान गरेको हो ।

संगमले माटोको मोह कृतिका लेखक तुलसी घिमिरे र महाकाश कृतिका लेखक मुना अर्याललाई सम्मान गरेको छ । अकिञ्चनका आर्तहरुका स्रष्टा देवराज खरेल र घुम्दै फिर्दैका स्रष्टा जनाद्र्धन खनाल सम्मानित हुनुभएको छ । यस्तै, अनुत्तरित प्रश्नबाट समीर पाख्रिन, जुनेलीबाट पुरुषोत्तम आचार्य र बैकिङ क्षेत्रमा बढेका पाइलाहरुबाट सुदर्शन अधिकारीलाई सम्मान गरिएको छ । यसैगरी, अन्तरदृष्टिबाट बिशन पौडेल, व्यथाभित्रको कथाबाट श्यामप्रसाद श्रेष्ठ, म कथा भन्छु नि लबाट सीएम रिमाल, हार्न नसक्ने मान्छे मबाट गणेशकुमार तिमल्सिना, प्रारम्भिक संस्कृत व्याकरणबाट उदिम पन्त, पल्लवित पाइलाबाट कृशु अर्याल र मेकिङ इट इजीबाट आदर्श पौडेललाई सम्मान गरेको हो ।

संगमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा अग्रज साहित्यकार नवराज शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यमा नियमित साहित्य सन्ध्या तथा सम्मान कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बर्तौलाले सम्मानपत्रका लागि नगद ५ हजार रुपैयाँ सहयोग गर्ने हेटौंडा–१८ निवासी लक्ष्मण भुजेललाई धन्यवाद व्यक्त गर्नुभएको छ । २०८० सालमा कृति प्रकाशन गरेर सम्मान हुने सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुहुँदै साहित्य क्षेत्रमा क्रियाशील भइरहने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा देवराज तिवारी, अनसुया खनाल, राजबहादुर बुढा, मसान उपासक, सुवास सजल, स्वस्तिका दहाल, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डेलगायतले रचना वाचन गर्नुभएको छ । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी उपाध्यक्ष निरा शर्माको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version