Home मुख्य समाचार गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता

गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता

कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः बागमती प्रदेश सरकारले गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकार र स्थानीय सरकारबिच सम्झौता गरेको छ । सामाजिक विकास मन्त्रालयमा बुधबार एक कार्यक्रमका बिच प्रदेश सरकारले ३५ स्थानीय तहसँग गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन गर्न सम्झौता गरेको हो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतबिच सम्झौता भएको हो । बागमती प्रदेशमा स्थायीरुपले बसोबास गर्ने ग्रामीण भेगका महिलाको सशक्तीकरण तथा क्षमता विकास गर्ने उद्देश्यका साथ प्रदेश सरकारले गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्यन गर्न लागेको हो ।

प्रदेश सरकारले यसअघि नै गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत भएको छ । प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गृहिणी महिला सशक्तीकरण कार्यक्रमका लागि ५ करोड रुपैयाँ रकम छुट्याएको थियो । सशक्तीकरण कार्यक्रमपश्चात् महिला समूहलाई बिउ पुँजी, लगानी, उत्पादन, बचत र पुनः लगानीको चक्र पूरा गरी प्रदेश समृद्धिको लक्ष्य हासिल गर्न चाहेको मन्त्री मोक्तानले बताउनुभयो ।

बागमतती प्रदेश सरकारले ग्रामीण गृहिणी महिलाको लागि पहिलो पटक यस्तो कार्यक्रम ल्याएको हो । प्रदेश सरकारले मकवानपुर जिल्लाकोे बकैया गाउँपालिका र मनहरी गाउँपालिकासँग कार्यक्रम कार्यान्वयनको लागि सम्झौता गरेको छ । यस्तै, सिन्धुलीको मरिण गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकासँग सम्झौता गरेको छ । प्रदेश सरकारले ललितपुरको कोन्ज्योसोम गाउँपालिका, महाङ्काल गाउँपालिका र महालक्ष्मी नगरपालिकासँग सम्झौता गरेको छ ।

यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका, बलेफी गाउँपालिका र बेथानचोक गाउँपालिकासँग सम्झौता गरेको छ भने काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका, पाँचखाल नगरपालिका, पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका र बनेपा नगरपालिकासँग सम्झौता गरेको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबीच कार्यक्रम कार्यान्वयन सम्झौता गरेको प्रदेश सकारले धादिङको नेत्रावती डवजोङ गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका, रुविभ्याली गाउँपालिका, ज्वालामुखी गाउँपालिका, खनियाबास गाउँपालिका र थाक्रे गाउँपालिकासँग पनि सम्झौता गरेको छ । यस्तै, नुवाकोटको किस्पाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका, शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिकासँग सम्झौता भएको छ । रामेछापको मन्थली नगरपालिका, काठमाडौंको नागार्जुन नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिकासँग पनि प्रदेश सरकारले सम्झौता गरेको हो । सम्झौतापश्चात् सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रतिनिधिहरुलाई अभिमुखीकरणसमेत गराएको थियो ।

Exit mobile version