Home खेलकुद अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद, ५१ स्वर्णसहित बागमतीको अग्रता कायमै

अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद, ५१ स्वर्णसहित बागमतीको अग्रता कायमै

अन्तरप्रदेशस्तरीय राष्ट्रय प्रतियोगिताको व्याडमिन्टनतर्फको तस्विर

हेटौँडाः अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेस्रो दिन बुधबारको खेल सकिँदासम्म बागमती प्रदेश ५१ स्वर्ण, ३६ रजत र ३० कास्यसहित पदक तालिकाको शीर्षस्थानमा रहेको छ । १८ स्वर्ण, १९ रजत र २२ कास्यसहित सुदुरपश्चिम प्रदेश दोस्रो स्थानमा छ । १२ स्वर्ण, १७ रजत र ३० कास्यसहित कोशी प्रदेश तेस्रो स्थानमा रहेको छ । ११ स्वर्ण, १० रजत र २३ कास्यसहित लुम्बिनी प्रदेश चौथो स्थानमा रहेको छ । ७ स्वर्ण, ८ रजत र १७ कास्यसहित कर्णाली प्रदेश पाँचौं स्थानमा रहेको छ भने ४ स्वर्ण, १४ रजत र १४ कास्यसहित गण्डकी प्रदेश छैठौं र ३ स्वर्ण, २ रजत र १० कास्यसहित मधेश प्रदेश अंकतालिकाको पुछारमा रहेको छ ।

महिला क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जित्दा कोशी प्रदेश उपविजेतामा सीमित भएको छ । कराँतेमा ९ स्वर्णसहित बागमती अग्रस्थानमा रहँदा लुम्बिनीले ४, सुदुरपश्चिमले ३ र कोशी प्रदेशले १ स्वर्ण पदक जित्दा कर्णाली, गण्डकी र मधेश प्रदेश स्वर्ण पदकविहिन छ । तेक्वान्दोमा बागमतीले ७, कोशी र सुदुरपश्चिमले ५÷५, लुम्बिनीले ३ र कर्णालीले १ स्वर्ण जितेको छ । मधेश र गण्डकी प्रदेशले एउटा पनि स्वर्ण जित्न सकेको छैन ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तरप्रदेशस्तरीय प्रतियोगितामा ७ प्रदेशका १ हजार ५ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको समापन हेटौँडा–६ स्थित गौरीटार रंगशालामा हुनेछ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेताले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुद विकास परिषद्ले व्यहोर्नेछ । यस्तै, खेलाडीहरुलाई ट्रयाकसुट, जुत्ता, मोजा र टावेल पनि प्रदान गरिनेछ ।

Exit mobile version