Home मुख्य समाचार गाउँ शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

गाउँ शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न

कार्यशालामा छलफल गरिँदै

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकामा एक दिने गाउँ शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । बिहीबार मकवानपुरगढी गाउँपालिकाको आयोजनामा शैक्षिक सत्र २०८१ का लागि क्षमता अभिवृद्धि तथा शिक्षासम्बन्धी कार्ययोजना निर्माण कार्यशाला सम्पन्न भएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयाँलले जानकारी दिनुभयो ।

कार्यशालामा बालविकास कक्षा, आधारभूत तह, माध्यमिक तह, प्राविधिक तह, विपद जोखिम व्यवस्थापन, समावेशी शिक्षा, शिक्षक व्यवस्थापनमा केके क्रियाकलाप राख्ने भन्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । कार्यशालामा २० वटा विद्यालयका शिक्षकहरुसँग छलफल भएको थियो । कार्यक्रममा प्रारम्भिक बालविकास सहजकर्ता ५ जना रहनुभएको थियो भने आधारभूत तहका ३, प्राथमिक तहका २ र माध्यमिक तहका १० जना गरी १५ जना प्रधानाध्यापक सहभागी रहनु भएको फुयाँलले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारबाट अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा कार्यक्रमका लागि मकवानपुरगढी गाउँपालिका छनौट भएको छ । मकवानपुरगढी गाउँपालिकामा २०८१ जेठ मसान्तभित्र अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्न कार्ययोजना बनाएर प्रक्रिया अगाडि बढाएको पालिकाका शिक्षा शाखा प्रमुख राम घलानले जानकारी दिनुभयो ।

कार्यशालामा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षता तथा पालिकाको शिक्षा शाखाका प्रमुख राम घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यशालामा गाउँपालिकाका स्रोत शिक्षक दाशरथि उपाध्याय र प्राविधिक सहायक भगवती घिमिरेको आतिथ्य थियो । कार्यशालाको सहजीकरण फ्यूचर नेपालका नवराज थापाले गर्नुभएको थियो ।

Exit mobile version