Home मुख्य समाचार विव्यस अध्यक्षहरूका लागि अभिमुखीकरण

विव्यस अध्यक्षहरूका लागि अभिमुखीकरण

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकामा रहेका ३७ वटा विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षहरूका लागि शिक्षा ऐन तथा नियमावलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएकोे एक दिने क्षमता अभिवृद्वि अभिमुखीकरण कार्यक्रम सम्पन्न हो ।

गाउँपालिकाले २०८५ सालभित्र अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्ने कार्ययोजना बनाएको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा शिक्षा ऐन तथा नियमावलीमा भएका नीतिगत व्यवस्थाका साथै विव्यसको काम, कर्तव्य, अधिकारबारे छलफल भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०८१ को कार्यविधि र गाउँ शिक्षासँग सम्बन्धित विषयमा समेत अभिमुखीकरण गरिएको बताइएको छ ।

कार्यक्रममा शिक्षकहरुसँग पनि कार्यसम्पादन सम्झौताबमोजिम काम र कार्यान्वयन सहजीकरणका लागि अनुरोध गरिएको छ । साथै, शिक्षक सरुवा कार्यविधिको प्रारम्भिक मस्यौदामाथि छलफल भएको प्रधानाध्यापक फुयाँलले जानकारी दिनुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका–१ का वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक आइत सिंह लोको सभाध्यक्षता तथा गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर घलानको विशेष आतिथ्यमा रहेको प्रधानाध्यापक फुयाँलले जानकारी दिनुभयो ।

Exit mobile version