Home खेलकुद प्रथम अन्तर प्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा

प्रथम अन्तर प्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही चैत २५ गतेबाट हुन लागेको प्रथम अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार चितवनको भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलन गर्दै प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले चैत २५ गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।

प्रतियोगितामा १ सय ३६ वटा स्वर्ण पदकका लागि ७ वटा प्रदेशको करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि १ सय ३६ वटा स्वर्ण, १ सय ३६ वटै रजत र १ सय ८६ वटा कास्य पदक गरी ४ सय ५८ वटा पदकको व्यवस्था गरिएको सदस्यसचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा छनोट हुने खेलाडीहरुलाई प्रशिक्षण दिएर १० औँ संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । विभागीय टिम मजबुत भएको र सबै खेलाडीहरु विभागीय टोलीमा लागेको तथ्यलाई मध्यनजर गरेर प्रतियोगिता गर्न लागेको उहाँको भनाइ छ । प्रतियोगिताको माध्यमले सबै प्रदेशले समयमा खेलाडीहरु तयार गर्ने र खेलाडी उत्पादनमा थप टेवा पुग्ने उहाँले दावी गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ भने समापन हेटौंडा–६ स्थित गौरीटार रंंगशालामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुनेछ । गौतम बुद्ध क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियरुपमा चिनाउन प्रतियोगिताको उद्घाटन चितवनमा गर्न लागेको र मकवानपुरमा फुटबल खेलप्रतिको आकर्षण बढ्दो क्रममा रहेकाले प्रतियोगिताको समापन हेटौंंडामा गर्न लागेको उहाँले बताउनुभयो ।

यसअघि प्रदेशले प्रतियोगिताको समापन हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला गर्ने भनेता पनि चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता २४ गतेबाट सुरु हुने भएकाले प्रतियोगिताको समापन गौरीटारमा गर्न लागेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिको भ्रमण वर्षसमेत सफल बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुबीच ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्र्गत् पुरुष फुटबल हेटौंडाको गौरीटार रंगशालामा हुनेछ भने बाँकी ८ वटा खेलहरु भरतपुर महानगरपालिकामै हुनेछ । एथ्लेटिक्स चैत २६ र २७ गते चितवनको चित्रवन रंगशालामा र २६ गतेदेखि २८ गतेसम्म भलिबल भरतपुरको गेष्ट हाउस चौरमा हुनेछ ।

यस्तै, कराँते र तेक्वान्दो चैत २६ र २७ गते भरतपुर महानगरपालिकाको औद्योगिक प्रदर्शनी हलमा हुनेछ । पौडी प्रतियोगिता २६ र २७ गते एल्टीडी हबेलीमा र व्याडमिन्टन चैत २६ गतेदेखि २८ गतेसम्म भरतपुर महानगरपालिकाको कभर्ड हलमा हुनेछ । महिला क्रिकेट २४ गतेदेखि २७ गतेसम्म र पुरुष क्रिकेट चैत २८ गतेदेखि बैशाख १ गतेसम्म गौतमबुद्ध क्रिकेट रंगशालामा हुनेछ । महिला फुटबल चैत २६ गतेदेखि बैशाख १ गतेसम्म बखत स्मृति रंगशालमा र बक्सिङ औद्योगिक प्रदर्शनी कभर्ड हलमा चैत २६ गतेदेखि २९ गतेसम्म हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि प्रदेश खेलकुद विकास परिषद् अध्यक्ष कुमारी मोक्तानको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ भने सदस्यसचिव भण्डारीको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । प्रतियोगिताका लागि विभिन्न ५ उपसमितिहरु र ९ वटा समिति गठन गरिएको छ ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेताले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुद विकास परिषद्ले व्यहोर्नेछ । यस्तै, खेलाडीहरुलाई ट्रयाकसुट, जुत्ता, मोजा र टावेल पनि प्रदान गरिनेछ ।

Exit mobile version