Home मुख्य समाचार हेटौँडा उपमहानगरको अनुमानित आयमा ३० करोडले कम हुने प्रक्षेपण, खर्च कटौति गर्न...

हेटौँडा उपमहानगरको अनुमानित आयमा ३० करोडले कम हुने प्रक्षेपण, खर्च कटौति गर्न वडालाई परिपत्र

हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको अनुमानित आयमा ३० करोड रुपैयाँले कमि आउने प्रक्षेपण गरिएको छ । संघीय र प्रदेश सरकारले दिने अनुदान, राजश्व बाँडफाँड र आन्तरिक आयमा कमि आउने निश्चित भएको उपमहानगरका अधिकारीको भनाइ छ । २ अर्ब ९० करोडको बजेट बनाएको उपमहानगरले झण्डै ३० करोड रुपैयाँ कम आम्दानी हुने निश्चित भएपछि खर्च कटौतिका लागि वडालाई पत्राचार गरिसकेको छ ।

हेटौँडा उपमहानगरपालिकाको वित्त व्यवस्थापन महाशाखाका प्रमुख अनिरुद्र नेपालकाअनुसार संघीय सरकारको समानीकरण अनुदान, घरजग्गा रजिष्ट्रेसन, मूल्य अभिवृद्धि कर, सवारीसाधन कर र नदीजन्य पदार्थको विक्रीबाट हुने आम्दानीमा उल्लेख्य कमि हुने अनुमान गरिएको छ । फागुन मसान्तसम्मको आयको अवस्थालाई विश्लेषण गर्ने क्रममा उपमहानगरको प्रस्तावित आयमा करिब ३० करोड रुपैयाँले कमि आउने अनुमान गरिएको महाशाखा प्रमुख नेपालले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । फागुन महिनासम्ममा १ अर्ब ९० करोड रुपैयाँ मात्रै आम्दानी भएको छ । “आम्दानी कम हुने भएपछि खर्च व्यहोर्न गाह्रो हुने विषयमा कार्यपालिका बैठकमा नै जानकारी गराइसकेका छौं” महाशाखा प्रमुख नेपालले भन्नुभयो, “चैत २ गतेको कार्यपालिका बैठकपछि चै ७ गतेको मितिमा वडामा परिपत्र गरेर तालिम, भ्रमण, अभिमुखीकरण जस्ता कार्यक्रम रोक्न भनिएको छ ।”
संघीय सरकारबाट समानीकरण अनुदानमा ३१ करोड प्राप्त हुने अनुमान गरिएकोमा फागुन मसान्तसम्म २३ करोड २८ लाख रुपैयाँ प्राप्त भएको छ । घरजग्गा रजिष्ट्रेसनवापत २८ करोेड ८६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ९ करोड ५७ लाख रुपैयाँ मात्र आम्दानी भएको छ । मूल्य अभिवृद्धि करवापत २१ करोड ६२ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा फागुन मसान्तसम्ममा ६ करोड २६ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ ।

सवारी साधन करबाट हुने आम्दानीमा पनि उल्लेख्य कमि आउने देखिएको छ । १० करोड ७३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ३ करोड ११ लाख रुपैैयाँ मात्रै आम्दानी भएको छ । यस्तै नदीजन्य पदार्थको विक्रीबाट ५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको हेटौँडा उपमहानगरपालिकाले फागुन मसान्तसम्ममा १७ लाख रुपैयाँ मात्रै आम्दानी गर्न सकेको छ ।

महाशाखा प्रमुख नेपालका अनुसार समानीकरण अनुदानमा ६ करोड, घरजग्गा रजिष्ट्रेसन करमा ८ करोड, मूल्यअभिवृद्धि करमा ६ करोड, सवारी साधन करमा २ करोड र नदीजन्य पदार्थबाट ४ करोड रुपैयाँले कम आम्दानी हुने अनुमान गरिएको छ । आर्थिक महाशाखाका अधिकारीले हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा चालु आर्थिक वर्षमा अनुमान गरिएको ३० करोड रुपैयाँ बजेट कम हुने निश्चित भएकोले चालु योजनाको भुक्तानी समेत दिन कठिन हुने स्पष्ट पारेका छन् । चालु योजनाका भुक्तानी दिन सुरु गरियो भने उपमहानगर गम्भीर आर्थिक संकटमा पर्ने चेतावनी समेत दिएको छ ।

Exit mobile version