Home खेलकुद हेटौंडा मेयर कप फुटबल प्रतियोगिता चैत २४ गतेदेखि सुरु हुने

हेटौंडा मेयर कप फुटबल प्रतियोगिता चैत २४ गतेदेखि सुरु हुने

हेटौंडाः चौथो संस्करणको हेटौंडा उपमहानगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आगामी चैत २४ गतेदेखि हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेले प्रतियोगिताबारे जानकारी गराउनुभयो ।

चैत २४ गते उद्घाटन हुने प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा उपमहानगरभित्रका वडाबाट सिफारिस भएर आएका खेलाडी र टिमले मात्र सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय टिममा परेका खेलाडीले भने खेल्न नपाउने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउन आगामी चैत १५ गतेसम्ममा टिम दर्ता गराउनुपर्नेछ । त्यसपछि खेलकुद विकास समितिको बैठक बसेर खेल तालिका बनाउने उहाँले बताउनुभयो । यसपटक एसईई परीक्षालाई मध्यनजर गरेर प्रतियोगिता चैत अन्तिममा आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउने जनाइएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा हेटौंडा–१ का वडाध्यक्ष एवम् उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, युवा तथा खेलकुद शाखाका प्रमुख बसन्त सिटौला र खेलकुद विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version