Home मुख्य समाचार मकवानपुरका महिला प्रधानाध्यापक सम्मानित

मकवानपुरका महिला प्रधानाध्यापक सम्मानित

सम्मानित महिला प्रधानाध्यापकहरु ।

सन्दर्भः श्रमिक महिला दिवस
हेटौंडाः ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मकवानपुरका मावि तहका ७ महिला प्रधानाध्यापक (प्रअ) सम्मानित हुनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी मकवानपुरले श्रमिक महिला दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनका दिन मावि तहका महिला प्रअलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा महेन्द्र किरण माविका प्रधानाध्यापक तारा गौतम, हेटौँडा–१८, हर्र्नामाडीस्थित गोरक्षनाथ माविकी प्रधानाध्यापक मीना श्रेष्ठ, हेटौँडा–१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, भीमफेदी गाउँपालिकास्थित महालक्ष्मी माविकी प्रधानाध्यापक उषा आचार्य, राक्सिराङ गाउँपालिकास्थित राष्ट्रिय मावि सिलिङ्गेका प्रधानाध्यापक लालामाया प्रजा, हेटौँडा–६ स्थित बालजागृति युवावर्ष माविकी प्रधानाध्यापक सम्झना अधिकारी र मनहरी गाउँपालिकास्थित महेन्द्र किरण माविकी प्रधानाध्यापक कविता लामा सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरुलाई सम्मानपत्रसहित पुस्तक वितरण गरिएको थियो ।

संघले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् रक्तदान कार्यक्रम, स्लो स्कुटी प्रतियोगिता, श्रमिक महिलालाई खाद्यान्न सहयोग, ‘८ मार्च र महिलाको भूमिका’ विषयमा वक्तृत्वकला र अन्तरक्रिया कार्यक्रम गरेको छ । समापन कार्यक्रममा रक्तदाता, स्लो स्कुटी रेस र वक्तृत्वकलामा सहभागीहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा अनेमसंघ जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षता तथा अनेमसंघ केन्द्रीय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जुनेली श्रेष्ठ, गोपाल श्रेष्ठ, सीता विष्ट, श्रीधर पोख्रेल, लक्ष्मी गजुरेल, पार्वती रानालगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version