Home खेलकुद विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण

विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण

विद्यालयलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण गरिदैँ

हेटौंडाः मकवानपुरको बकैया–५ मा रहेको गीतावर आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण गरिएको छ । बुधबार सरस्वती पूजाको अवसरमा विद्यालयमा उपस्थित भई पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययनरत काठमाडौं भ्याली लियो क्लबका पदाधिकारीहरुले विद्यालयलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण गरेको प्रधानाध्यापक हरिहर खनालले जानकारी दिनुभयो ।

क्लबमा आवद्ध विद्यार्थीहरुले पुस्तकालयका लागि एक हजार पुस्तक, ब्याडमिन्टन, भलिबल, फुटबलका साथै अन्य सामग्रीहरु हस्तान्तरण गरेका थिए । विद्यालयले विद्यार्थीहरुका लागि सामान्य होस्टेलको समेत व्यवस्था गरेको छ । होस्टेलमा हाल ३७ जना विद्यार्थी रहेका छन् ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा १ देखि ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ । विद्यालयमा अंग्रेजी र नेपाली माध्यम गरेर हाल २ सय ४९ जना विद्यार्थीहरु अध्ययनरत छन् । यसवर्ष कक्षा ८ को परीक्षा दिने ३१ जना विद्यार्थी रहेको प्रधानाध्यापक खनालले जानकारी दिनुभयो ।

विद्यालयमा पर्याप्त शिक्षक नभएका कारण पठनपाठनमा समस्या हुने गरेको, घेराबारको उचित व्यवस्था नहुनाले जंगली जनावरले विद्यालयमा दुःख दिने गरेको र विद्यालय भवनको आवश्यकता रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयलाई २०७३ सालमा प्लान नेपालले १० कोठे भवनको लागि सहयोग गरेको थियो । यस्तै, स्थर बेन्जामिन स्मृति संस्थाको सहयोगमा अहिले खानेपानी इनार, ट्याङ्कीलगायत खानेपानीसम्बन्धी काम भइरहेको छ ।

यस्तै, रेस्ट नेपालको सहयोगमा कक्षा १ देखि १२ सम्मका ४३ जना विद्यार्थीलाई कक्षा १२ सम्म पढ्नका लागि शैक्षिक सामग्रीदेखि सम्पूर्ण खर्च सहयोग गरिरहेको छ । यस आर्थिक वर्षमा नै एसियन पेन्ट्सले २ लाखको रङ सहयोग गरेको प्रधानाध्यापक खनालले जानकारी दिनुभयो ।

Exit mobile version