Home मुख्य समाचार ज्ञानदा माविको वार्षिकोत्सवमा शिक्षक, कर्मचारी, विद्यार्थी सम्मानित

ज्ञानदा माविको वार्षिकोत्सवमा शिक्षक, कर्मचारी, विद्यार्थी सम्मानित

विद्यार्थीलाई पुरस्कृत गरिँदै

हेटौँडाः हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराम थापाको अध्यक्षतामा वार्षिकोत्सव समारोह भएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व शिक्षक, व्यवस्थापन समितिका पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विविध कार्यक्रमको आयोजना गरेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले नृत्य, गायन तथा नाट्यकला प्रस्तुत गरेका थिए भने विविध क्रियाकलापमा सहभागी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । विद्यालयले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, पूर्व शिक्षक, कर्मचारी, कार्यरत शिक्षक, कर्मचारीलाई पनि सम्मान गरेको छ ।

विद्यालयका सहायक प्रधानाध्यपक रमा अधिकारीले शैक्षिक वर्ष २०७९ सालमा वडाको सहयोगमा ३ वटा कम्प्युटर, स्मार्ट टिभी र सबै कक्षामा सीसी क्यामेरा जडान गरेको जानकारी गराउनुभयो । हेटौंँडा उपमहानगरपालिकाबाट अक्षयकोष वृद्धिका लागि २ लाख ५० हजार रुपैयाँ प्राप्त भएको उहाँले बताउनुभयो ।

विद्यालयले कक्षा–४ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । उहाँले आगामी दिनमा बालमैत्री फर्निचरहरुको व्यवस्था गर्दै अंग्रेजी माध्यमलाई क्रमशः माथिल्लो कक्षाहरुमा विस्तार गर्दै जानुपर्ने बताउनुभयो । अभिभावकसँग निरन्तर सम्पर्क गरी विद्यालय छाड्ने दर कम गर्नुपर्ने, शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने र प्राविधिक शिक्षाको थालनी गनुपर्ने अधिकारीले बताउनुभयो ।

गत शैक्षिक सत्रमा विद्यालयमा ३०९ जना विद्यार्थी भर्ना भएका मध्ये २३१ जना परीक्षामा सहभागी भएको र २०९ जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । चालु शैक्षिक वर्ष २०८० मा ३ सय ८ जना विद्यार्थी भर्ना भएका छन् ।

Exit mobile version