Home मुख्य समाचार ७ स्थानमा निःशुल्क आँखा शिविर हुँदै

७ स्थानमा निःशुल्क आँखा शिविर हुँदै

फाइल तस्वीर ।

हेटौंडाः हेटौंडाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा ७ स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा मकवानपुर, बारा र सर्लाही जिल्लाका ७ स्थानमा निःशुल्क आँखा जाँच शिविर तथा निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्ने भएको हो ।

माघ २० गतेदेखि २३ गतेसम्म विभिन्न स्थानमा शिविर हुने भएको छ । माघ २० गते शनिवार मकवानपुरगढीको शिखरकटेरीमा शिविर हुनेछ । माघ २१ गते मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँ र बारा जिल्लाको इनर्वामा शिविर हुनेछ । यस्तै, माघ २२ गते सर्लाहीको रामनगर र मकवानपुरको बुढीचौरमा शिविर हुनेछ भने माघ २३ गते बाराको हरिपुर र मकवानपुरको पाथीभरामा निःशुल्क आँखा शिविर हुने भएको छ ।

७ स्थानमा हुने शिविरबाट क्लबले एक हजार ६ सय जनाको आँखा परीक्षण गर्ने लक्ष्य बनाएको छ । जाँच गरिएका मध्ये करिब २ सय ९० जनामा मोतिविन्दुको समस्या हुनसक्ने अनुमान गरिएको छ । मोतिविन्दु देखिएका व्यक्तिलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरी चस्मासमेत वितरण गरिने भएको छ । आँखाका रोगीले पुनः उज्यालो संसार देख्न पाउन् भन्ने उद्देश्यले शिविर आयोजना गरेको बताइएको छ ।

लायन्स क्लब ३२५ ए एरिया २ मकवानपुरको आयोजनामा शुक्रबार र शनिबार हेटौंडाको पल्पसा सभाहलमा तेस्रो क्याबिनेट मिटिङ हुने भएको छ । कार्यक्रममा मकवानपुरको पर्यटकीय स्थलहरुको बारेमा छलफल तथा जानकारी गराइनेछ । बैठकमा काठमाडौं, वीरगञ्ज र मकवानपुरका लायन्सका पदाधिकारीहरुको सहभागिता हुने लायन्स क्लब ३२५ ए एरिया २ मकवानपुरका जेपी यादवले जानकारी दिनुभयो । बैठकमा डिष्ट्रिकअन्तर्गत् रहेका क्लबहरुले गरेका सामाजिक क्रियाकलापहरुको रिपोर्टिङ गरेर उत्कृष्ट क्लबहरुलाई सम्मानसहित पुरस्कार वितरण गरिने यादवले बताउनुभयो ।

माघ २० गते हुने भेलामा लायन्स क्लब इन्टरनेशनलसँग हेटौंडा सामुदायिक आँखा अस्पताललाई एक लाख अमेरिकी डलर बराबरको भवन निर्माणका लागि सहयोग प्रस्ताव गरिने भएको छ ।

Exit mobile version