Home मुख्य समाचार मानव बेचविखनविरुद्धको संरक्षण नीतिबारे अभिमुखीकरण

मानव बेचविखनविरुद्धको संरक्षण नीतिबारे अभिमुखीकरण

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेल

हेटौंडाः मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीतिको प्रचार तथा आगामी कार्यदिशासम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । बुधबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, महिला कानुन र विकास मञ्चको संयुक्त सहकार्यमा अभिमुखीकरण भएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले नीतिको बारेमा जानकारी गराउनुभयो । प्रदेशले थप उत्तरदायी भएर मानव बेचविखन तथा ओसारपसारमुक्त प्रदेश बनाउन नीति लागू गरिएको उहाँले बताउनुभयो । उहाँले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा बालबालिका बढी हराउने गरेको बताउनुभयो । श्रमलगायतका शोषणाका कारण जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई मनोसामाजिक, आर्थिक तथा कानुनीरुपमा सशक्तिकरण गर्न चुनौती रहेको कँडेलले बताउनुभयो ।

पुनः स्थापनाका लागि स्थापित सेवा सुविधालाई प्रभावकारी बनाएर पुनः मिलनका कार्यक्रमअन्तर्गत् अभिभावक सचेतीकरणलाई प्राथमिकता दिन आवश्यक रहेको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारले नीति कार्यान्वयन गर्न आवश्यक ऐन, नियम, निर्देशिका र कार्यविधि बनाउन सक्ने उहाँले बताउनुभयो । नीतिको कार्यान्वयनको जिम्मेवारी प्रदेश सरकार हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकार र कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले पनि आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले पछिल्लो समय मानव बेचविखनको स्वरुप बदलिँदो अवस्थामा रहेको बताउनुभयो । पहिलाभन्दा फरक ढङ्गले मानव बेचविखन भइरहेको उहाँले बताउनुभयो । अहिले वास्तविक पीडितको पहिचान नभइरहेको अवस्था रहेको उहाँको भनाइ छ । उहाँले पीडितहरुले समयमै क्षतिपूर्ति पनि पाउन नसकिरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकलगायत सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version