Home मुख्य समाचार शिक्षामा गाउँपालिकाको ध्यान, ३१ शिक्षक नियुक्त, दुई वटा विद्यालयमा बस सञ्चालन गर्दै

शिक्षामा गाउँपालिकाको ध्यान, ३१ शिक्षक नियुक्त, दुई वटा विद्यालयमा बस सञ्चालन गर्दै

२०७४ साल पुस महिनामा गाउँपालिकाले शिक्षाको सुधारका सुझाव संकलनका लागि आयोजना गरेको कार्यक्रममा सहभागी पालिकाभित्रका विद्यालयका शिक्षकहरु ।

हेटौंडाः मकवानपुर जिल्लाको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिकाले शिक्षामा सुधारका लागि महत्वपूर्ण कार्य गरिरहेको छ । गाउँपालिकाले गत शैक्षिक सत्र २०७६ मा ३१ जना शिक्षक नियुक्त गरी पालिकाका सबै विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाएको थियो । चालु आर्थिक वर्षभित्रै पालिकाका दुई विद्यालयलाई विद्यालय बस खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बागमती गाउँपालिकाले वडा नम्बर ५ ज्यामिरेस्थित देवकी मावि र वडा नम्बर ८, फापरबारीस्थित जनता माविका लागि विद्यालय बस गरिद गर्दैछ । माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको सुविधाका लागि पालिकाले बस उपलब्ध गराउन लागेको अध्यक्ष सर्केश घलानले जानकारी दिनुभएको छ । आधारभूत तहअन्तर्गत ५ कक्षा, ८ कक्षा उत्तीर्ण भएपछि माथिल्लो तहको शिक्षा लिन नजिकै विद्यालय नभएका र विद्यालय नजिक कोठा भाडामा लिएर अध्ययन गर्ने अवस्था नभएका विद्यार्थीको सहजताका लागि पालिकाले विद्यालयलाई बस उपलब्ध गराउन लागेको जनाएको छ ।

गाउँपालिकाले गत शैक्षिक सत्रमा विद्यार्थीको अनुपातमा शिक्षक उपलब्ध गराउन ३१ जनालाई पालिकाकै बजेटमा करारमा नियुक्त गरेको छ । वर्षौदेखि निमावि तह सञ्चालनमा रहे पनि दरबन्दी पाउन नसकेका, मावि तहमा विषयगत दरबन्दी नभएका क्षेत्र लक्षित गरी पालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरी करारमा शिक्षक नियुक्त गरेको गाउँपालिकाका शिक्षा शाखाका सहायक प्रमोद राईले जानकारी दिनुभयो । गाउँपालिकाले मावि तहमा ६ जना, निमावि तहमा १६ जना, प्रावि तहमा ८ जना र प्रारम्भिक बालविकास कक्षामा एक जना शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा नियुक्त गरेका ३१ जना शिक्षकलाई चालु शैक्षिक सत्रमा पनि नियमित गर्ने जनाएको छ । साथै आगामी आर्थिक वर्षमा पनि थप विद्यालयलाई आवश्यकताअनुसार विद्यालय बस उपलब्ध गराउन गाउँपालिका सकारात्मक रहेको राईको भनाइ छ ।

निर्वाचित भएर आएपछि गाउँपालिकाले शिक्षाको सुधारका लागि शिक्षकहरुको भेला गराई सुझाव संकलन गरेको थियो । बागमती गाउँपालिकामा ५ वटा माविसहित ५० वटा सामुदायिक विद्यालय छन् भने एउटा निजी विद्यालय रहेको राई बताउनुहुन्छ । बागमती गाउँपालिकामा करिब ८ हजार बालबालिका विद्यालय तहमा अध्ययनरत छन् ।

Exit mobile version