Home मुख्य समाचार मनहरीमै स्वाब संकलन सुरु, दुईवटा क्वारेन्टाइनमा ६० जना

मनहरीमै स्वाब संकलन सुरु, दुईवटा क्वारेन्टाइनमा ६० जना

गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा स्वाब संकलन गरिँदै फाइल तस्बिर

हेटौंडाः कोरोना संक्रमण भए, नभएको परीक्षणका लागि मकवानपुरको मनहरी गाउँपालिकामै स्वाब संकलन गर्ने कार्य सुरु भएको छ । गत बिहिबारदेखि पालिकामै स्वाब संकलन गर्ने व्यवस्था गरेको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुईटेलले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकाले २ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ । पालिकाभन्दा बाहिर स्वेदश या विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर टेस्ट गराएर कोरोना संक्रमण नभएको अवस्थामा मात्रै घर पठाउने गरिएको सिनियर अहेव लुइटेलको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले स्वाब संकलन गर्न १५ वटा भिटिएम उपलब्ध गराएपछि मनहरीले पनि बिहिबारदेखि स्वाब संकलन गर्न सुरु गरेको हो । मनहरी गाउँपालिकाले पनि एक सय थान भिटिएम खरिद गरेको छ । मनहरी गाउँपालिकाले बिहिबार परीक्षणका लागि पठाएको ३ वटा स्वाबमा कोरोना संक्रमण नभएको पाइएपछि ती व्यक्तिलाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको छ ।

मनहरीबाट आइतबार २७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि हेटौंडास्थित किटजन्य रोग नियन्त्रण प्रयोगशालामा पठाएको छ । मनहरी गाउँपालिकाले ३ नम्बर वडाको लामिटार र ७ नम्बर वडाको रमनटारमा क्वारेन्टाइन सञ्चालन गरेको छ । आज दुबै क्वारेन्टाइनमा गरेर ६० जना रहेका छन् । लामिटारमा २९ जना र रमनटारमा ३१ जना रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्ये २ जना कुवेतबाट शनिबार मात्रै आइपुगेका दुई महिला छन् भने अन्य सबै भारतबाट आएका गाउँवासी रहेको सिनियर अहेव लुइटेलले बताउनुभयो । मनहरी गाउँपालिकाले विदेशमा रहेका पालिकाभित्रका नागरिकको लगत समेत संकलन गरेको छ । गाउँपालिकाको वडा कार्यालयलाई सम्बन्धित वडाको विवरण संकलन गर्न परिचालन गरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती जानकारी दिनुभएको छ ।

Exit mobile version