Home खेलकुद जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा उसु प्रतियोगिता सम्पन्न

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा उसु प्रतियोगिता सम्पन्न

उसु प्रतियोगितामा सहभागी हुनेहरु खेलाडीहरु

हेटौंडाः १४ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत् उसु प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुषतर्फको सान्सोउ विधातर्फ रोवित थापा र महिलातर्फ संगम मोक्तान प्रथम भएका छन् । ४२ केजीदेखि ४५ केजी तौल समूहबाट पुरुषतर्फ बुद्ध भोलन र महिलातर्फ मनिष विक प्रथम भएका छन् । ४५ देखि ४८ केजी तौल समूहबाट पुरुषतर्फ विशेष थापा र महिलातर्फ सुनिता लामा भएका छन् ।

यस्तै, थाउलो विधाको छानछवान विधामा महिलातर्फ सर्गन मोक्तान र पुरुषतर्फ शीतल थिङ प्रथम भएका छन् । नानछवान विधातर्फ सयम राजु दहाल र जेनिशा गुरुङ प्रथम भएका छन् । ताइचीमा अविस्मा पाठक र रिषभ खतिवडा प्रथम भएका छन् ।

उसु प्रतियोगितामा २५ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महिला र पुरुषतर्फ ४२ केजीदेखि ४८ केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत् शनिबार भलिबल, एथ्लेटिक्स, तेक्वान्दोलगायतको खेलहरु हुनेछ ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये प्रथम हुने खेलाडीलाई जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा १५ दिन बन्द प्रशिक्षणमा सहभागी गराएर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइनेछ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्गीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको थियो । पुरस्कार वितरण कार्यक्रममा उसु संघका सचिव विश्वनाथ पाठक, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, उसु प्रशिक्षक विमल थापा मगर, सितोरियो कराँते संघका अध्यक्ष दीपकबहादुर तामाङलगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version