हेटौँडाः परम्परागत उद्यमलाई जगेर्ना गर्दै रोजगारमूलक कलाको अभ्यासलाई जोड दिन मकवानपुरमा ठेकी बनाउने तालिम सुरु भएको छ । २० दिने तालिममा ५ जना पुरुष र २० जना महिला गरी २५ जना सहभागी छन् । दातृ निकाय र हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा सामुदायिक विकास तथा सचेतना नेपालले तालिमको आयोजना गरेको हो । तालिममा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरगढी र बकैया गाउँपालिकाका प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता समूहको निवर्तमान अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, गैसस महासंघ बागमती प्रदेश समितिकी अध्यक्ष आरती पाठक, डिभिजन वन कार्यालय धादिङका वन अधिकृत विष्णुप्रसाद आचार्य, डिभिजन वन कार्यालय हेटौँडाका निमित्त प्रमुख बसन्त गौतम, गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको पनि आतिथ्य रहेको थियो ।
हेटौँडा–५ स्थित पिप्ले–पोखरा सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा दैनिक तीन घण्टा तालिम हुने आयोजक संस्था सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले जानकारी दिनुभएको छ । तालिममा प्रशिक्षकमा धादिङ जिल्लाका सानुभाइ सुनार रहनुभएको छ ।
