हेटौंडाः विभिन्न घटनामा काभ्रेपलाञ्चोकमा एकैदिन ३ जनाको मृत्यु भएको छ । बिहीबार बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा ३ जना र सिन्धुली जिल्लामा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
काभे्रपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका–५ मा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय डोमप्रसाद ढकाल रहेको प्रहरीले जानकारी दिएको छ । ढकाल केही दिनदेखि रुघाखोकी लागी बिरामी भएकोमा बिहीबार बेलुका ७ बजे एक्कासी बेहोस भएका थिए । बेहोस भएका ढकाललाई उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–७, धनेश्वर पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका–८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार राति ११ बजेर ३० मिनेटको समयमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा श्रेष्ठ घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारको लागि शिर मेमोरियल अस्पताल लगिएकोमा सोहि राति ११ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेकोे प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाकै बनेपा नगरपालिका–६, बुडोलमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका–६ बस्ने २२ वर्षीय सलिन दनुवार रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति ११ बजेर ३५ मिनेटको समयमा दनुवार बेहोस भई ढलेकोमा उपचारको लागि शिर मेमोरियल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१२, गहतेमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय आइते सार्की रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार दिउँसो ४ बजेको समयमा कच्ची सडकमा कोल्टे परी लडिरहेको अवस्थामा सार्की फेला परेका थिए । घाइते सार्कीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
