Home मुख्य समाचार सार्वजनिक यातायात सुधारको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

सार्वजनिक यातायात सुधारको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

हेटौंडाः सार्वजनिक यातायातको क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै पुरानो नारायणी यातायात प्रालिले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साललाई ज्ञापनपत्र बुझाएको छ । सार्वजनिक यातायातको विकासका निम्ति साविक ऐन तथा नियममा संशोधन, थप र खारेजीका लागि मंगलबार मन्त्रालयमा पुगेर २० बुँदे ज्ञापनपत्र बुझाइएको हो ।

यातायात व्यवसायीहरुले यातायात क्षेत्रका संघसंस्थाको दर्ता तथा नवीकरण खुलाउनुपर्ने, सार्वजनिक सवारीको दायरामा सम्पूर्ण भाडाका सवारी साधनलाई अटाउनुपर्ने, यातायात निर्देशनालय वा यातायात प्राधिकरण बनाउनुपर्ने माग ज्ञापनपत्रमा छ । सवारी कर र राजश्व, सवारी दुर्घटनापश्चातको दायित्व र बिमा, सवारी दुर्घटनाका घाइतेका सम्बन्धमा ऐनमा भएका व्यवस्था परिमार्जन गर्नुपर्ने माग यातायात व्यवसायीको छ ।

सवारी दुर्घटनाको जटिलता र कानुनी व्यवस्था, पञ्जीकरण, सवारी साधन नम्बरको प्रदेशीकरण, सडक इजाजत (बहुल)को नयाँ व्यवस्था हुनुपर्ने, चालक/सहचालक प्राविधिक शिक्षालय र व्यावसायिक लाइसेन्स हुनुपर्ने, बसपार्क तथा हाइवे भेहीकल पार्क हुनुपर्ने, तौलपुलको अनिवार्यता, विद्युतीय सवारी, सार्वजनिक सवारीमा २० वर्षे नीतिलगायत विषयमा ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराइएको छ ।

सार्वजनिक सवारी सञ्चालन तथा व्यवस्थापन गर्ने संघसंस्था र कम्पनीलाई मूल्य अभिवृद्धि कर छुट दिनुपर्ने, यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषको अनिवार्य व्यवस्था हुने नीति बनाउनुपर्ने, यातायातका सवारी साधनहरुमा सहुलियत कर्जा, नीजि क्षेत्रलाई थप व्यावसायिक र जिम्मेवार बनाउनुपर्ने, भारतीय सवारीको निर्वाध प्रवेशलाई समान व्यवहारमा लानुपर्ने माग ज्ञापनपत्रमा रहेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, मुलुकी ऐन, आचारसंहिता र बिमा नीतिलाई एक अर्कासँग समन्वयन हुने गरी ऐन तर्जुमा हुनुपर्ने माग छ । हाल कार्यान्वयनमा रहेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन २०७४ अव्यवहारिक रहेको हुँदा संशोधन आवश्यक रहेको व्यवसायीको भनाइ छ । ज्ञापनपत्र बुझाउने क्रममा पुरानो नारायणी यातायात प्रालिका अध्यक्ष हीरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई, महासचिव सरोजकुमार खनाल, उपाध्यक्ष विष्णु विडारी, कोषाध्यक्ष राजेश खड्कीलगायत यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version