Home खेलकुद बकैया गोल्डकपको तयारी पूराः मंगलबार खेलकुदमन्त्री लिम्बुले उद्घाटन गर्ने

बकैया गोल्डकपको तयारी पूराः मंगलबार खेलकुदमन्त्री लिम्बुले उद्घाटन गर्ने

हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा मंगलबारदेखि पालिकास्तरीय गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको लागि तयारी पूरा भएको पालिकाका खेलकुद विकास समिति अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।

प्रतियोगिताको मंगलबार नेपाल सरकारका खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गर्नुहुने भएको छ । यसअघि प्रतियोगिता सोमबारबाट सुरु गर्ने भनिए पनि एक दिन पछि सारेर मंगलबारदेखि आयोजना गर्न लागेको उहाँले बताउनुभयो । बकैया–३ स्थित हात्तीसुँडेमा हुने प्रतियोगिता बिहान ११ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको खेल तालिका शनिबार सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा पालिकाका १२ वटै वडाको टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा सिनियर र जुनियर टिमको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ । प्रतियोगितामा सिनियर र जुनियर टिमको विजेताले एक–एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Exit mobile version