Home खेलकुद प्रधानमन्त्री कप टिम छनोट क्रिकेटमा ओमनगर विजयी

प्रधानमन्त्री कप टिम छनोट क्रिकेटमा ओमनगर विजयी

हेटौंडाः मकवानपुृर जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रधानमन्त्री कप क्रिकेट टिम छनोट प्रतियोगितामा ओमनगर क्रिकेट क्लब दोस्रो पटक विजयी भएको छ ।

मंगलबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको खेलमा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई २४२ रनले पराजित गर्दै ओमनगर क्रिकेट क्लब विजयी भएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको ओमनगरले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो । ओमनगरबाट शुभ कंसाकारले सर्वाधिक ३९ बलमा ७५ रन बनाएका थिए । गौरव खड्काले २८ बलमा ६८ रन, आशीष श्रेष्ठले ४७ बलमा ४१ रन, पिउस शर्माले १२ बलमा २४ रन, आस्तिक दहालले १८ बलमा २० रन, गोकुल अधिकारीले १० बलमा १६ रन र करण अग्रवालले २६ बलमा ९ रन जोड्न सफल भएका थिए ।

मकवानपुर क्याम्पसबाट इमरान आलमले सर्वाधिक ३ विकेट लिएका थिए । साकार गजुरेलले २ विकेट लिएका थिए । अस्मित कुमार, एमडी ताकिर शेख र सुमित वाग्लेले समान एक–एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको मकवानपुर क्याम्पसले १९ ओभर ४ बलमा १० विकेटको क्षतिमा ६० रनमात्र जोड्न सफल भएको थियो ।

मकवानपुर क्यामसबाट तवरेज आलमले सर्वाधिक १९ बलमा १९ रन बनाएका थिए । यस्तै, साकार गजुरेलले ५ रन, मिथिलेस गुप्ताले ६ रन बनाएका थिए । ओमनगरबाट पिउस शर्मा र अर्पणले समान ३–३ विकेट लिएका थिए । शुभ कंसाकारले २ विकेट लिएका थिए ।

दोस्रो पटकको हार व्यहोरेसँगै मकवानपुर क्याम्पस छनोट प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश क्रिकेट संघको सदस्य विनोद प्रधानको संयोजकत्वमा भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस १२ गते हुने क्रिकेट संघको सदस्य साजन कुमार शर्माले बताउनुभयो ।

खेलको म्यान अफ द म्याच ओमनगरबाट शुभ कंसाकार घोषित भएका छन् । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको प्रदर्शनीको आधारमा पहिलो चरणमा २२ जना खेलाडीहरु छनोट गरी दोस्रो पटक छनोट प्रतियोगितामा सहभागी गराउन प्रदेश पठाउने जनाइएको छ ।

गतवर्ष भएको प्रधानमन्त्री क्रिकेट प्रतियोगितामा मकवानपुरबाट ४ जना छनोट भएका थिए । छनोट हुनेमा रामनरेश गिरी, गौरव खड्का, रिजन ढकाल र शुभ कंसाकार रहेका थिए । प्रतियोगिताअन्तर्गत् बुधबार मकवानपुर क्रिकेट क्लब र रेड स्वाइल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आइतबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको खेलमा मकवानपुर क्याम्पस र ओमनगर क्रिकेट क्लबबीच भएको खेलमा पनि ओमनगरले मकवानपुर बहुमुखी क्याम्पसलाई १८१ रनले पराजित गरेको थियो । आइतबार टस जितेर पहिलो ब्याटिङ गरेको ओमनगर क्रिकेट क्लबले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतीमा २५० रन बनाउन सफल भएको थियो । ओमनगरबाट शुभ कंसाकारले ६३ रन, गौरव खड्काले विना आउट ३९ रन र गोकुल अधिकारीले ३९ रन बनाएका थिए ।

मकवानपुर क्याम्पसबाट सुमित वाग्लेले ३ विकेट लिएका थिए । मकवानपुर क्याम्पसबाट रोहित केसरीले १४ रन बनाएका थिए । ओम नगरबाट पिउस शर्माले ५ र रोहित ठाकुरले २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको मकवानपुर क्याम्पसले १७ ओभरमा सबै विकेट गुमाएर ६९ रनमात्र जोड्न सफल भएको थियो ।

मकवानपुरबाट रोहित केसरीले १० बलमा १४ रन बनाएका थिए । आइतबार भएको खेलको म्यान अफद म्याच ओम नगरका पिउस शर्मा घोषित भएका छ्न् ।

Exit mobile version