हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा कैलाश गाउँपालिकाका विभिन्न वडाको विद्यालयबाट करिब ५ सय जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, तेक्वान्दो र ज्याभलिङ थ्रोलगायतका खेलहरु भएको थियो ।
शुक्रबार सम्पन्न भएको प्रतियोगितामा वडा–३ स्थित भवानी माध्यमिक विद्यालय प्रथम, वडा–१० स्थित रत्नज्योति माध्यमिक विद्यालय द्वितीय र वडा–९ स्थित कालिका माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमहरुले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरुलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराउन १० दिन बन्द प्रशिक्षणमा राखिने जनाइएको छ ।
गाउँपालिकाको सहयोग तथा कालिका माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान, गाउँपालिका उपाध्यक्ष कुमार मल्ल, वडा–९ अध्यक्ष भुवन सिंह, वडा–२ का अध्यक्ष सूर्यबहादुर भोलन र गाउँपालिकाका सामाजिक विकास संयोजक राजेन्द्र घिसिङ, शिक्षा तथा खेलकुद शाखा प्रमुख दीपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।