Home अर्थ/व्यापार ४८ करोडको बजेट ल्याउने तयारीमा मकवानपुरगढी, टोलस्तरबाट वडा स्तरमा छलफल हुँदै

४८ करोडको बजेट ल्याउने तयारीमा मकवानपुरगढी, टोलस्तरबाट वडा स्तरमा छलफल हुँदै

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४८ करोड हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा गाउँपालिकाले पठाएको सिलिङको आधारमा बस्तीस्तरबाट हाल वडास्तरमा छलफल चलिरहेको छ । गाउँपालिकाले प्रत्येक वडालाई ७० लाखको सिलिङ पठाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा विदेशबाट आएका र यहिँ भएका युवाहरुलाई लक्षित गरेर कृषि र पशुपालनलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताउनुभयो ।

कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पार्दा पुर्वाधारमा नै धेरै बजेट लाग्ने अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । गाउँपालिकाले बाँझो जमिनमा खेती गर्न पे्ररित गर्ने, सम्पूर्ण जनतालाई उत्पादनमा जोड्ने लगायतका विषयहरुलाई आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिने जानकारी दिएको छ । आगामी आर्थिक वर्षको बजेट गत वर्षको समानन्तरमा आउने अध्यक्ष हुमागाईले बताउनुभयो ।

यस वर्ष गाउँपालिकाको राजस्व गत वर्षको तुलनामा घटेको र वित्तीय समानीकरण तर्फको बजेट भने बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । गाउँपालिकामा संघीय सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरणतर्फ ९ करोड ८९ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै सशर्त अनुदानतर्फ २० करोड ४४ लाख, राजस्व तर्फ ७ करोड ६४ लाख र विशेष अनुदानतर्फ २ करोड २६ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले बागमती प्रदेशको विभिन्न मन्त्रालयबाट २ करोड ३० लाख ५० हजार बजेट प्राप्त गर्ने छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट ५ करोड आय अनुमान गरेको छ । यि सबैको आँकलन गर्दा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४८ करोडको बजेट अनुमान गरेको हो ।

बजेट निर्माणको तयारी अहिले गाउँपालिकामा तीव्रताका साथ चलिरहेको छ । गाउँपालिकामा आर्थिक समिति, सामाजिक समिति, पुर्वाधार समिति, विपद व्यवस्थापन समिति, सुशासन समिति र विधान समितिहरुले आ—आफ्नो विषयको छलफल चलाइरहेका छन् । जेठ २६ गतेबाट सुरु भएको विषयगत छलफल जेठ ३० गतेसम्म चल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । गाउँपालिकाले असार १ गतेदेखि ५ गतेसम्म बजेटको तयारीमा तीव्र रुपले लाग्ने बताएको छ । त्यसपछि कार्यपालिकाको बैठक लगायतका छलफलहरु गरेर असार १० गते गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्ययोजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

Exit mobile version