Home अन्तरवार्ता “विद्यार्थीले नबुझेका कुराहरु कथा वा कविता बनाएर बुझाउँछु”

“विद्यार्थीले नबुझेका कुराहरु कथा वा कविता बनाएर बुझाउँछु”

सुवास खनाल, विज्ञान विषय शिक्षक त्रिभुवन मावि, हेटौँडा–११, नवलपुर

यतिबेला पर्वको लामो विदाका कारण हेटौँडा उपमहानगर क्षेत्रका अधिकांश विद्यार्थी घरमै छन् । शिक्षकहरु देश–विदेश भ्रमणमा छन् । केही विद्यार्थी पनि आफ्ना अभिभावकसँग भ्रणमा छन् । पर्वको लामो विदाको समयमा विद्यार्थीको दैनिकीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अभिभावकलाई चासो र चिन्ता छ । यसै सन्दर्भमा हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माविमा शिक्षक सुवास खनालसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः अहिले विद्यालय बन्द छ । विद्यालय बन्द रहँदा विद्यालयका विद्यार्थीहरु के गरिरहेका छन् ?
खनालः
हेटौंडा उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार अहिले अधिकांश विद्यालयहरु बन्द छन् । विद्यालय बन्द भएको समयमा विद्यार्थीलाई गृहकार्य दिएका छौं । सिर्जनात्मक रुपमा विद्यार्थीहरु उत्तप्रेरित हुने किसिमले चाडवाड कसरी बित्यो भन्ने बारे प्रतिवेदन, लेखहरु लेख्न लगाउने, डायरी लेख्न लगाउने र दैनिकीहरु लेख्ने जस्ता गृहकार्य दिएका छौं । विज्ञान विषय शिक्षक भएको हुँदा मैले विद्यार्थीहरुलाई सस्कृतिसँग पनि विज्ञान जोडिएको छ भन्दै जमरा कसरी राख्ने ? यसको महत्वको बरेमा लेख्ने अभ्यास दिएको छु ।

समाजः यो समयमा शिक्षकहरु के गर्दै हुनुहुन्छ ?
खनालः
हाम्रो विद्यालयको सन्दर्भमा सामूहिक भ्रमण जाने जस्ता क्रियाकलाप गर्नु भएको छैन । तर, समग्र शिक्षक साथीहरु भ्रमण जानु भएको, या कतै घुमिरहनु भएको देखिन्छ ।

समाजः शिक्षकहरु भ्रमणमा हुनुहुन्छ भन्नुभयो । भ्रमणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?
खनालः
हामी पारिवारिक रुपमा र विद्यालय भित्रबाट पनि विभिन्न ठाउँमा भ्रमण गइरहेका हुन्छौं । धेरैजसो नेपालका पर्यटकीय स्थलहरु र संस्कृति बोकेका ठाउँहरुमा घुम्ने जस्ता कार्य गर्छाैं । यो विद्यालयको परियोजना कार्य भित्र पनि पर्छ । शिक्षकहरुले यस्तो शैक्षिक भ्रमणहरुमा भएका र गरिएका गतिविधिहरु बारे विद्यार्थीसँग बसेर अन्तरक्रिया गर्ने, प्रतिवेदन लेख्न दिने जस्ता कार्यहरु गरे भ्रमण प्रभावकारी बन्छ । नकि सामाजिक सञ्जालमा मात्र सीमित रहने ।

समाजः भ्रमणमा लैजाँदा विद्यार्थीहरु अनियन्त्रित भएमा के गर्नुहुन्छ ?
खनालः
स्वभावतः विद्यार्थीहरु विद्यालय भित्र अनुशासित नै हुन्छन् । व्यवहारमा पनि विद्यालय अनुसार फरकपन पनि आउने नै हुन्छ । यस्तो वातावरण आयो भने तुरुन्तै सम्झाउने र ध्यान दिने हो भने त्यो अवस्था नआउला ।

समाजः शिक्षकहरु मात्र पनि सामूहिक भ्रमण जाने सही कि गलत ?
खनालः
शिक्षकहरु मात्र पनि सामूहिक भ्रमण जानु पर्छ भन्छु । किनभने त्यो अभ्यासले शिक्षकहरुलाई एक आपसमा नजिक बनाउँछ । बिदाको र अनुकुल समय बनाएर जानु पर्छ । र आफ्नो अनुभव विद्यार्थीहरुलाई पनि सुनाउनु पर्छ ।

समाजः बिदाको समयलाई विद्यार्थीहरुले कसरी उपयोगी बनाउन सकिन्छ ?
खनालः
प्रविधिसँग जोडिने मात्र होइन प्रविधिलाई उपयोग गर्ने, शिक्षाका विभिन्न क्रियाकलाप गर्ने, किताबहरु पढ्ने र पढाईका सामग्रीहरु बनाउने कार्य गरी उपयोग गर्ने सुझाव दिन्छु ।

समाजः प्रविधिको उपयोग कतिको राम्रो छ ?
खनालः
धेरै उपयोग पनि दुरुपयोग हो । त्यसैले प्रविधिको व्रत बस्ने, एकदिनभर मोबाइल फोनको प्रयोग नगर्ने । यसरी पनि लत लाग्न नदिन सकिन्छ ।

समाजः तपाईलाई साहित्यकार पनि हुनुहुन्छ । शिक्षण र साहित्यलाई कसरी अघि बढाउनुहुन्छ ?
खनालः
दुबै क्षेत्र मलाई रमाइलो लाग्छ । साहित्यले मलाई पढाउन सहज बनाउँछ । विद्यार्थीले नबुझेका कुराहरु कथा बनाएर वा कविता बनाएर बुझाउने गर्छु । यसबाट धेरै फाइदा भएको छ ।

Exit mobile version