Home मुख्य समाचार जाजरकोट भूकम्पः बागमती प्रदेश सरकारद्वारा १ करोड ५० लाख सहयोगको घोषणा

जाजरकोट भूकम्पः बागमती प्रदेश सरकारद्वारा १ करोड ५० लाख सहयोगको घोषणा

भूकम्प पीडितलाई सहयोगसम्बन्धमा बागमती प्रदेश सरकारले जारी गरेको विज्ञप्ति ।

हेटौँडाः कर्णाली प्रदेशको जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राती गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी पीडितको उद्दार, उपचार र पुनस्र्थापनाका लागि बागमती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्नुहुँदै सहयोगको घोषणा गर्नुभएको छ ।

बागमती प्रदेश सरकारले भूकम्पले पुर्याएको क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भूकम्प पीडितको उद्दार, उपचार एवम् पुनस्र्थापनामा सहयोग गर्न नागरिक समाज, गैरसरकारी सं,घ संस्थालाई अपील समेत गरिएको छ । भूकम्पमा परी जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ गरी कुल १ सय ३३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । भूकम्पमा परी जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १ सय ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।

जाजरकोटाका घाइते मध्ये ३३ जनाको जाजरकोटमै उपचार भइरहेको र २२ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले उल्लेख गरेको छ । यस्तै रुकुम पश्चिममा ३० जना घाइते उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ४० जना जिल्लामै उपचाररत छन् भने १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रेफर गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थलगत निरीक्षण गरिसक्नुभएको छ भने संघीय सरकारले उद्दार, राहत र पुनस्र्थापनाको प्रयास गरिरहेको छ ।

Exit mobile version