हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौंडा अस्पतालमा असोज महिनामा १ सय ६५ जनाको शल्यक्रिया भएको छ । हेटौंडा अस्पतालका मेडिकल रेकर्डर राजीव झाका अनुसार असोज महिनामा स्त्रीस्वास्थ्य सम्बन्धी १४ वटा शल्यक्रिया भएको छ ।
अस्पतालमा नाक, कान, घाँटीसम्बन्धी ९ वटा शल्यक्रिया, सामान्य शल्यक्रिया ९२ वटा र हाडजोर्नीसम्बन्धी ५० वटा शल्यक्रिया भएको छ । मेडिकल रेकर्डर झाका अनुसार स्त्री स्वास्थ्य सम्बन्धी शल्यक्रियामा ४ वटा जटिल र १० वटा सामान्य शल्यक्रिया भएको थियो । नाक, कान, घाँटीको २ वटा जटिल र ७ वटा सामान्य शल्यक्रिया भएको छ भने सामान्य शल्यक्रियातर्फ ३७ वटा जटिल प्रकृतिका र ५५ वटा सामान्य शल्यक्रिया भएको छ । हाडजोर्नीका २५ वटा जटिल शल्यक्रिया भएको छ ।
हेटौंडा अस्पतालका हार्डजोर्नी विशेषज्ञ डा. अमन कृष्ण रञ्जितका अनुसार अस्पतालमा बिरामीको चापअनुसार चिकित्सकको संख्या कम रहेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीमा धेरै बालबालिकाको शल्यक्रिया गर्न आवश्यक नहुने डा. रन्जित बताउनु हुन्छ । बालबालिकाको हड्डी कमलो भएकाले पछि आफैं जोड्न सकिने कारणले शल्यक्रिया गर्न आवश्यक नभएको डा.रन्जितले प्रष्ट पार्नु भएको हो । अस्पतालमा शल्यक्रियाको क्रममा रगत बग्ने, नसामा चोट लाग्ने, रोग भएको बिरामीको पछि अंग चल्न नसक्ने समस्या आउने गरेको छ ।
डा.रन्जितका अनुसार अस्पतालमा बिरलैमा शल्यक्रिया गर्न मन नभएका वा औषधी मात्र लगाएर बस्ने बिरामी पनि आउने गरेका छन् । यस्ता बिरामीलाई डाक्टरहरुले शल्यक्रिया गर्न सल्लाह मात्र दिन सकिने उहाँले बताउनुभयो । हेटौंडा अस्पतालमा आएका बिरामीमा समयका जचाउन नपाएको, अस्पतालमा औषधी नपाएको, रिर्पोट डिलो आएको र शल्यक्रियाको समय ढिलो भएको गुनासो रहेको छ ।
