Home अर्थ/व्यापार पालिकाहरु किसानलाई अनुदान बाँड्दै, दुध नबिकेर किसान तनावमा, २५ करोड उधारो

पालिकाहरु किसानलाई अनुदान बाँड्दै, दुध नबिकेर किसान तनावमा, २५ करोड उधारो

बागमती प्रदेशको कृषि मन्त्रालय अगाडि धर्ना दिँदै चितवनका किसान । फाइल तस्वीर ।

हेटौँडाः देशभरका पालिकाले जस्तै मकवानपुरका १० वटै पालिकाले किसानलाई दुधमा अनुदान बाँडिरहेको छ । पालिकाले सूचना प्रकाशित गरी किसानलाई अनुदान लिन आग्रह गरिरहँदा किसान भने उत्पादन भएको दुख नबिकेर, बेचिसकेको दुखको पैसा नउठेर तनावमा छन् । सरोकारवालाले, स्थानीय सरकारले दुधको बजारीकरण र उपभोग बढाउन ध्यान दिन सकेको छैन । जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुध संकलन नै रोक्न थालेको छ ।

संघले पदमपोखरी क्षेत्रबाट मंगलबार साँझ र बुधबार बिहान दुई छाक दुध संकलन नै गरेन । दुइ छाकमा करिब ५ हजार लिटर दुध संकलन नगरिएको संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिनुभएको छ । उत्पादनको तुलना माग न्यून भएकोले बाध्य भएर किसानले उत्पादन गरेको दुध संकलन गर्न नसकिएको व्यवस्थापक दाहालको भनाइ छ । संघले जिल्लाबाट दैनिक करिब ५० हजार लिटर दुध संकलन गरिरहेको छ । संघले मकवानपुर जिल्लाका १३ उद्योग, काठमाडौंको एक, भक्तपुरका ४ वटा, ललितपुरका ३ वटा, काभ्रेका २ र पोखराको एउटा उद्योगलाई दुध पठाउने गरेको छ । जिल्लाबाहिर करिब २५ हजार लिटर दुध निर्यात गर्दै आएको संघले जिल्लाभित्रै २५ हजार लिटर दुध खपत गर्नुपर्ने अवस्था छ ।

दुधको उत्पादनको तुलना माग कम भएकै कारण पाउडर दुध बनाएर राख्नुका साथै नौनी बनाएर समेत राखिएको छ । तर, अहिले पाउडर दुध र नौनी बनाएर भण्डारण गरेर राख्ने स्थानको पनि अभाव भएको दाहाल बताउनुहुन्छ । “एकातर्फ दुध बिक्दैन, अर्कोतर्फ दुध बेचेर पनि पैसा आउने अवस्था छैन”, व्यवस्थापक दाहालले भन्नुभयो, “डेरी उद्योगसँग संघले २७ करोड रुपैयाँ लिनुपर्ने छ भने किसानलाई २५ करोड रुपैयाँ तिर्नुपर्ने छ । बक्यौता उठाउनै कठिन भइरहेको छ ।”

संघमा आवद्ध भएका ५३ सहित कुल ६१ वटा सहकारी संस्थाबाट ४१ वटा चिस्यान केन्द्रमा संकलन भएको दुध संघले उद्योगसम्म पठाउने गरेको छ । संघले करिब ९ हजार किसानसँग दुध संकलन गरिरहेको छ । पछिल्लो समय दुधको उपभोक्ता मूल्यमा वृद्धि भएर पनि विक्री घट्नु, छिमेकी जिल्ला र भारतमा समेत दुधको मूल्य सस्तो हुनुले मकवानपुर जिल्लाका किसानले उत्पादन गरेका दुधको खपत कम हुँदै गएको दाहालको भनाइ छ ।

Exit mobile version