Home मुख्य समाचार प्राथमिक तहको शिक्षकको परीक्षा आज, दृष्टिविहिन परीक्षार्थीलाई सहयोगी राख्न समस्या

प्राथमिक तहको शिक्षकको परीक्षा आज, दृष्टिविहिन परीक्षार्थीलाई सहयोगी राख्न समस्या

शिक्षा विकास तथा समन्वय इकाईमा बिहिबार लेखन सहयोगीको पत्र बनाउन पुगेका दृष्टिविहिन परीक्षार्थी ।

हेटौँडाः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक नियुक्तिअन्तर्गत आज शनिबार दोस्रो पत्रको परीक्षा सञ्चालन गर्दैछ । बागमती प्रदेशको परीक्षा आज हेटौँडामा हुँदैछ । प्रथम पत्रमा उत्तीर्ण तीन हजार ९९ उम्मेदवार परीक्षामा सहभागी हुनेछन् । परीक्षा सञ्चालनका लागि शिक्षा विकास तथा समन्वय इकाईले आवश्यक तयारी गरेको छ ।

परीक्षामा सहभागी हुने दृष्टिविहिन उम्मेदवारले भने समस्या झेल्नुपरेको गुनासो गरेका छन् । बिहिबार शिक्षा विकास तथा समन्वय इकाईमा भेटिएका दृष्टिविहिन उम्मेदवारले परीक्षामा लेखन सहयोगी राख्न समस्या भएको बताएका छन् । लोकसेवा आयोगको परीक्षामा आयोगले नै लेखन सहयोगीको व्यवस्था गरिदिने भए पनि शिक्षक सेवामा भने त्यस्तो व्यवस्था नभएको भन्दै उनीहरुले दुख व्यक्त गरेका छन् ।

प्राथमिक तहको शिक्षकको परीक्षामा सहभागी हुन सुर्खेतदेखि हेटौँडा आइपुग्नु भएका तोरण अधिकारीले लेखन सहयोगी व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । २०६६ सालदेखि राहत शिक्षकको रुपमा कार्यरत अधिकारी प्रमुख विषय नेपाली लिएर स्नात्तकोत्तर उपाधि हासिल गरिसक्नुभएको छ । दृष्टिविहिनका लागि तयारीमा पनि समस्या हुने अधिकारीको भनाइ छ । श्रव्य सामग्रीको अभावमा दृष्टिविहिनलाई समस्या हुने उहाँको भनाइ छ । “कुनै पुस्तक आधिकारिकरुपमा श्रव्य बनाएर प्राप्त हुने अवस्था छैन । अरु कसैले श्रव्य ढाँचामा तयार पार्दा कपिराइटको अधिकारविरुद्ध हुने खतरा रहन्छ”, अधिकारीले भन्नुभयो, “राज्यकै निकायले आधिकारिकरुपमा श्रव्य ढाँचामा तयार पारेर दिने व्यवस्था भए हामीलाई सहज हुन्थ्यो ।

परीक्षामा सहभागी हुन हेटौँडामा आइपुगेका दृष्टिविहिन उम्मेदवारहरुले अनलाइन कक्षाका कारण तयारीमा सहज भएको बताएका छन् । रौतहट जिल्लाका दिपेश कुमार बैठाले परीक्षामा दृष्टिविहिन उम्मेदवारलाई सबैभन्दा कठिन भएको दावी गर्नुहुन्छ । शारीरिकरुपमा सामान्य अपााङ्गता भएका व्यक्ति र पूर्णरुपमा दृष्टिविहिन व्यक्तिले समान अपाङ्गताको कोटामा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गलत भएको बैठाको भनाइ छ । दोस्रो पत्रको परीक्षाका लागि आएका दृष्टिविहिन उम्मेदवारहरु आफूहरु दृढ आत्मबलका साथ परीक्षामा सहभागी हुन हेटौँडा आएको बताएका छन् ।

Exit mobile version